मदिरा नियन्त्रण अभियान कागजमै सीमित



 

विनोद सिंह विष्ट, बैतडी
बैतडीका वडावडामा अहिले मदिरा नियन्त्रण अभियान सञ्चालन भइरहेको छ। स्थानीय तहको निर्वाचनपछि आएका जनप्रतिनिधिहरूले वडावडामा मदिरा नियन्त्रण गर्ने निर्णय गरिरहेका छन्।

मदिराका कारण पारिवारिक विखण्डन, सामाजिक विकृतिलगायतका कुराहरू हुनथालेपछि वडा कार्यालयहरूले निर्णय गरेर मदिरा नियन्त्रण अभियान थालेका हुन्।

गाउँका कुना कन्दरामा अन्य सामग्री अभाव भए पनि अवैध मदिरा प्रशस्त पाइने र यसले समाजमा नकारात्मक असर पारेकाले मदिरा नियन्त्रण अभियानमा लागेको सुर्नया गाउँपालिका वडा नं ८ का अध्यक्ष आनन्दसिंह बोहराले बताउनुभयो।

अवैध मदिराले बालबालिका तथा महिलाहरूलाई समस्या पारेको र यसले समाजमा नराम्रो असर पारेकाले वडाको हाताभित्र पूर्ण रूपमा मदिरा बेचबिखन बन्द गरिएको दोगडाकेदार गाउँपालिका वडा नं ६ का अध्यक्ष लक्ष्मीदत्त जोशीले बताउनुभयो।

यस्तै सिगास गाउँपालिकाले गाउँपालिकाभरि नै मदिराको कारोबारमा रोक लगाएको सूचना प्रकाशित गरेर जानकारी दिएको छ। ‘धेरै जसो ठाउँमा अवैध मदिराको कारोबार भइरहेको र यसले समाजमा गलत प्रभाव पारिरहेकाले मदिराको कारोबारमा रोक लगाएको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो। वडा कार्यालयहरूले वडामा मदिराको कारोबार गरेमा कम्तीमा २ हजार जरीवना गर्ने निर्णय गर्दै मदिराको कारोबारमा अंकुश लगाएका छन्।

लाइसेन्स लिएर मदिराको कारोबार गरिरहेकाहरूलाई केही खुला गरिएको भए पनि अवैध रूपमा मदिराको कारोबार गर्ने कारवाही गर्ने हिसाबले निर्णय गरेको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दले बताउनुभयो। स्थानीय तहका जनप्रतिनिधिहरूले मदिरा नियन्त्रण अभियान थालेकोमा महिला अधिकारकर्मी पनि खुशी भएका छन्।

बैतडीका धेरैजसो स्थानीय तहले स्थानीय तहहरूलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको भएपनि कागजमै सीमित भएको छ। अवैध मदिराको कारोबार रोक्नका लागि कतिपय ठाउँमा मदिराको अवैध कारोबार बन्द गरिएको छ भने कतिपय स्थानीय तहभरि नै मदिराको कारोबारमा पूर्णरूपमा रोक लगाउने निर्णय समेत भएको छ। स्थानीयतहहरूले अवैध मदिराको कारोबारमा रोक लगाएको भएपनि मदिराको कारोबार भने नरोकिएको स्थानीयबासिन्दाले बताएका छन्। सिगास गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको भएपनि कार्यान्वयन भने नभएको स्थानीय जनक साउँदले बताउनुभयो।

सिगास गाउँपालिकाले भदौ महिनामा नै मदिराको कारोबार बन्द गर्ने निर्णय गरेको थियो। यस्तै शिवनाथ गाउँपालिकाले पनि मदिराको कारोबार बन्द गर्ने निर्णयलाई उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासले कारोबार बन्द गर्ने निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरीम आदेश दिएपछि मदिराको कारोबार जारी रहेको छ।

लाइसेन्स लिएकाहरूले कानुनी रूपमा मदिराको बिक्रीवितरण गरिरहेको बताएका छन्। कानुनी रूपले मदिराको कारोबार गर्ने कागज लिएर व्यवसाय गरिरहेकाको मदिरा व्यवसाय रोक्न कानुनले समेत नमिल्ने भएपछि मदिरा निषेधित क्षेत्र घोषणा गर्ने कुरा कागजमै सीमित हुन थालेको छ। जिल्लाको पुरचौडी नगरपालिकाको न्वाला, साँफेबजारलगायतका क्षेत्रमा मदिराको अवैध कारोबार चलिनैरहेको स्थानीय बासिन्दाले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्