पूर्वराजाको समर्थनमा वीरगन्जमा प्रदर्शन



 

कृष्णउदास खनाल, वीरगन्ज
र्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिको स्वागतमा आइतबार वीरगन्जमा राजतन्त्रवादीले स्वागतसहित प्रदर्शन गरेका छन्।

शनिबार भाइटीकाको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा ज्ञानेन्द्रले जनताको इच्छा र सहयोग भए मुलुकको नेतृत्व लिन आफू तयार रहेको अभिव्यक्ति दिएपछि त्यसैको स्वागतमा उनका समर्थकले आइतबार वीरगन्जमा र्याली निकालेका हुन्। शुभकामना सन्देशमा पूर्वराजा ज्ञानेन्द्र शाहले भनेका थिए– ‘दुबोको माला, मखमली र गोदावरी फूलको मालाको महत्त्व नबुझ्ने तर कागजको फूलको सुवास खोज्ने परिस्थितिमा हामी हिँडिरहेका छौं, मुलुकमा नेतृत्व नभएको जस्तो देखिएको छ, त्यसैले अब समय आएजस्तो लाग्छ, जिम्मेवारी दिन र नेतृत्व लिन तयार छु।’

वीरगन्जको घण्टाघर चोकबाट नेपाल राष्ट्रवाद संघले निकालेका याली माइस्थान, आदर्शनगर, घडीअर्वा हुँदै पुनः घण्टाघर चोकमै पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै नेपाल राष्ट्रवाद संघका अध्यक्ष जनकलाल शाहले मुलुकको नेतृत्व सम्हाल्न तयार रहेको भनी पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिले सम्पूर्ण नेपाली जनता उत्साहित र खुसी भएको बताए।

राजनीतिक दलका नेताहरूका कारण नै देश अहिलेको दूरावस्थामा पुगेको र जनताले पनि सास्ती खेपिरहेको भन्दै अध्यक्ष शाहले अब मुलुकको नेतृत्व ज्ञानेन्द्र शाहले हाक्नुपर्ने बेला आइसकेको बताए। भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा दलका नेताहरूले पैसा, रक्सी र मासुको बलमा चुनाव जितेको आरोप लगाउँदै अध्यक्ष शाहले अब आइरहेको प्रतिनिधी र प्रदेशसभाको निर्वाचनमा पनि फेरि नेताहरूले पैसा, रक्सी र मासुमा किन्ने प्रयत्न गर्ने भएकाले त्यसबाट जनतालाई सजग बनाउनका लागि नै ज्ञानेन्द्र शाहले मुलुकको नेतृत्व सम्हाल्न इच्छा देखाएको र त्यसमा सबै जनताले साथ दिने जिकिरसमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्