वाम तालमेलभन्दा जालझेल बढी



 

मधुसूदन रायमाझी
काठमाडौं
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि संयुक्त उम्मेदवारीविरुद्ध वामपन्थी गठबन्धनबाटै वागी उम्मेवारले पनि उम्मेदवारी दर्ता गराएका छन्।

एमाले र माओवादी केन्द्रबीच निर्वाचनमा ६०⁄४० को सिट बाँडफाँड भएको थियो। ३२ जिल्लामा हुने निर्वाचनमा उम्मेदवारी दर्ता गराउने क्रममा वामपन्थी गठबन्धनभित्र असन्तुष्टि देखिएको छ। एमाले र माओवादी केन्द्रभित्र उम्मेदवारी छनोटको विषयलाई लिएर बढी विवाद चुलिएको छ। पार्टीभित्रको विवाद वागी उम्मेदवारी दिनेसम्मको भएको छ।
चुनावी तालमेलसँगै पार्टी एकीकरण गर्ने सहमति गरेका एमाले र माओवादीलाई उम्मेदवारी छनोट प्रक्रियामा देखिएको असन्तुष्टि र विवाद मिलाउन टाउको दुःखाइको विषय बनेको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका व्यक्तिहरूलाई मात्र टिकट दिएको भन्दै एमालेभित्र नै आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। जिल्ला पार्टीले सिफारिस गरेको उम्मेदवारभन्दा पनि अध्यक्षले सिफारिसमा नै नपरेका व्यक्तिहरूलाई टिकट दिएको भन्दै चर्को आलोचना भएको छ। ओलीले निर्णयप्रति वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालले असन्तुष्टि जनाउँदै आएका छन्।

वामपन्थी गठबन्धन बनाएर निर्वाचनमा होमिएका एमाले र माओवादी केन्द्रको बीचमा सिट बाँडफाँडले निकै सकस बनाएको छ। पार्टी नेतृत्वले कार्यकर्ताको भावनाविपरीत जबरजस्तीरूपमा तालमेलको नाममा सिट बाँडफाँड गरेको भन्दै वामपन्थी गठबन्धकै विरुद्ध एमाले र माओवादी केन्द्रबाट वागी उम्मेदवारी दर्ता भएको छ।

वामपन्थी गठबन्धको साझा उम्मेदवार माओवादी केन्द्रका नेता शक्ति बस्नेतविरुद्ध नेकपा एमालेका गोविन्दविक्रम शाहले वागी उम्मेदवारी दर्ता गराउनुभएको छ। रामेछापमा पनि एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा नै वाम गठबन्धका उम्मेदवारविरुद्ध माओवादी केन्द्रले वागी उम्मेदवारी दर्ता गराएको छ। वाम गठबन्धनको तर्फबाट रामेछापमा प्रतिनिधिसभाको उम्मेदवार बन्नुभएका बिनाविभागीय राज्यमन्त्री एवं माओवादीका नेता श्यामकुमार श्रेष्ठविरुद्ध माओवादी केन्द्रकी नेता एवं पूर्वसभासद् लक्ष्मी गुरुङले वागी उम्मेदवारी दर्ता गराउनुभएको छ।

त्यसै गरी वामपन्थी गठबन्धनबाट रामेछापको प्रदेशसभामा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका कैलाश ढुंगेल र शान्ति पौडेलविरुद्ध माओवादी केन्द्रका पोलिटब्युरो सदस्य मैनकुमार मोक्तान र हेमन्त पौडेलले वागी उम्मेदवारी दर्ता गराउनुभएको छ।

रामेछापमा निर्वाचन क्षेत्र बाँडफाँडमा नेतृत्वले कार्यकर्ताको भावनाको सम्बोधन गर्न नसकेको भन्दै उम्मेदवारी दर्ता गराएको बागी उम्मेदवार लक्ष्मी गुरुङले बताउनुभयो।

त्यसै गरी टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै दोलखामा एमालेका नेता लालकुमार केसीले पार्टी परित्याग गरी नेकपा एमालेबाट उम्मेदवारी दर्ता गराउनुभएको छ। पशुपति चौलागार्इंले आफूले पाउने टिकट लिएको आरोप लगाउँदै केसीले पार्टी नै परिवर्तन गरेर उम्मेदवारी दर्ता गराउनुभएको हो।

बाम गठबन्धनका कारण जिल्लामा चर्काे विवाद भएको छ। दुई प्रदेश सिट र एक प्रतिनिधिसभाको सिट गरी तीन सिट भए पनि बाम गठबन्धनको उम्मेदवार छनोटमा चर्काे विवाद भएको हो। बामपन्थी गठबन्धनविरुद्ध धेरै जिल्लामा उम्मेदवार छनोटमा विवाद देखिएको छ।

नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले दुई पार्टीबीच भएको चुनावी तालमेल अनुसार नै साझा उम्मेदवार नै आधिकारिक हुने बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनलाई दुवै पार्टीले आ–आफ्नो तर्फबाट आवश्यक प्रक्रिया बढाएर कारबाही गर्छ।’ ‘वाममन्थी गठबन्धलाई हराउने उद्देश्यसहित दुई पार्टीभित्रकै नेताहरूले बागी उम्मेदवारी दिए दुई पार्टीले टुलुटुलु हेरेर बस्दैन’ –भट्टराईले भन्नुभयो।

दुई दलबीच चुनावी तालमेल भएसँग आन्तरिक विवाद पनि चुलिँदै गएको छ। निर्वाचन क्षेत्रको सिट बाँडफाँडबाट शुरू भएको वामपन्थी गठबन्धको किचलो उम्मेदवारी दर्तासम्म आइपुग्दा बढी चुलिएको छ।

प्रतिक्रिया दिनुहोस्