उम्मेदवार मनोनयन दर्ता उत्साहजनक



सुनील महर्जन, काठमाडौं
३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि आइतबार ८ सय २ जना उम्मेदवारले मनोनयन दर्ता गराइएका छन्।

आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्रमा ३ सय २० र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा ४ सय ८२ जना उम्मेदवारले मनोनयन दर्ता गराइएका हुन्। ३२ जिल्लामै उम्मेदवार मनोनयन दर्ता उत्साहजनक र शान्तिपूर्वक भएको निर्वाचन आयोगले जनाएको छ।

अत्यन्त उत्साह र सौहार्द वातावरणमा उम्मेदवारको मनोनयन दर्ता भएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले बताउनुभयो। ‘यसबाट संघीय संसद् र प्रदेशसभाको निर्माण प्रक्रिया शुरु भएको छ’ –उहाँले भन्नुभयो। उम्मेदवारको मनोनयन दर्तासँगै अब कसैले निर्वाचन रोक्न नसक्ने पनि प्रमुख निर्वाचन आयुक्त यादवको धारणा रहेको छ। उहाँले भन्नुभयो– ‘निर्वाचनको माहोल बन्दै गएको छ। उम्मेदवारको मनोनयनसँगै जिल्ला–जिल्लामा निर्वाचनको रौनकता छाउनेछ।’

मनोनयन दर्ताका लागि बिहान १० देखि अपराह्न ५ बजेम्म समय तोकिएको थियो। उम्मेदवारहरूले फूलमाला लगाएर बाजागाजाका साथ दलबल लिएर जिल्ला सदरमुकाममा खोलिएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयनपत्र दर्ता गराएका थिए। एक जनाले प्रस्ताव र अर्को एक जनाले समर्थन गरी सहीछाप गरेको मनोनयनपत्रसहित प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचन हुने प्रणालीतर्फ मनोनयन दर्ता गराइएको थियो।

प्रस्तावक र समर्थक सोही निर्वाचन क्षेत्रअन्तर्गतको गाउँपालिका वा नगरपालिकाको वडा सदस्यको मतदाता नामावलीमा नाम समावेश भएको निस्सासमेत मनोनयनपत्रमा संलग्न गराउनुपर्ने कानुनी व्यवस्था छ। धरौटी रकमको हकमा प्रतिनिधिसभा सदस्यका लागि १० हजार र प्रदेशसभा सदस्यका लागि ५ हजार रुपियाँ निर्धारण गरिएको छ। महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिकरूपले विपन्न उम्मेदवारको हकका धरौटी रकममा ५० प्रतिशत छुट गरिएको थियो।

यस पटकदेखि एक व्यक्तिले एक पटकमा कुनै एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेदवारी दिन सक्ने प्रावधान लागू गरिएको छ। एकभन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएमा त्यस्ता उम्मेदवारको सबै क्षेत्रको उम्मेदवारी बदर हुने व्यवस्था रहेको आयोगले जनाएको छ।

समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएकाले प्रत्यक्षतर्फको निर्वाचनमा उम्मेदवारी दिन पाउने छैनन्। त्यस्तै, प्रदेशसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारले भने मनोनयनपत्रका साथ नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी जम्मा गरेको रसिद र प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेस गरेर मात्र उम्मेदवारको मनोनयन दर्ता गराइएको थियो।

उम्मेदवारको मनोनयन दर्ता भएपछि आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रमअन्ुसार उम्मेदवारविरुद्ध उजुरी दिने, उजु्री जाँचबुझ तथा छानबिन गर्ने, उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न गरी कात्तिक ८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गरिने आयोगले जनाएको छ।
पहिलो चरणमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखामा चुनाव हुनेछ। यसै गरी पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा पनि पहिलो चरणमा निर्वाचन हुनेछ। पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाता छन्।

पहिलो चरणका लागि आवश्यक पर्ने मतदाता नामावली छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको निर्वाचन आयोगले जनाएको छ। पहिलो चरणको निर्वाचनका लागि ४ हजार ४६५ मतदान स्थल र २ हजार ९४६ मतदान केन्द्र कायम गरिएको छ। आगामी मंसिर २१ गते निर्वाचन हुने बाँकी ४५ जिल्लामा यही कात्तिक १६ गते मनोनयन दर्ताको कार्यक्रम रहेको छ।

उम्मेदवारको मनोनयनपत्र दर्ता भएपछि सबै उम्मेदवारलाई निर्वाचन आचारसंहिता लागू भएको पनि आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्