क्याम्ब्रिन पट्रोलमा नेपाली सैनिक टोलीले जित्यो स्वर्ण पदक



नेपाल समाचारपत्र
काठमाडौं
संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा गत असोज २७ गतेबाट आइतबारसम्म सञ्चालन भएको एक्सरसाइज क्याम्ब्रिन पट्रोल २०१७ मा नेपाली सैनिक टोलीले स्वर्ण पदक प्राप्त गरेको छ। उक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाबाट सेनानी आयुष राणाको नेतृत्वमा १० जनाको सैनिक टोली असोज १३ गते बेलायततर्फ प्रस्थान गरेको थियो।

युद्धकालीन विशेष परिस्थितिहरूको कल्पना गरी शत्रुपक्षको गतिविधिसमेत समेटेर सञ्चालन गरिने यस विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीहरूको शारीरिक सहिष्णुता र पेसागत दक्षताको मूल्यांकन गर्ने गरिन्छ।

अत्यन्त कठिन भौगोलिक इलाकामा सञ्चालन हुने यस अभ्यासमा सहभागीहरूले २ दिनभित्रमा हतियार तथा करिब ५० पाउन्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित लगभग ५० किलोमिटर दूरी पार गर्ने क्रममा सहभागी टोलीको लडाइँको तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा गर्ने निर्धारित स्थानहरूसम्मको यात्रा, खोला तथा अन्य अवरोध पार गर्ने क्षमता, खबर संकलन, घाइते–बिरामीको व्यवस्थापन, विस्फोटक पदार्थहरू पत्ता लगाउने क्षमतालगायत रासायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कतासमेतका अनेकन दक्षताहरूको परीक्षण गरिन्छ।

संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा सम्पन्न उक्त अभ्यासमा बेलायती फौजका १ सय ११ र नेपालसमेत अन्य २८ देशका गरी कुल १ सय ३९ सैन्य टोलीको सहभागिता रहेको थियो।

उक्त अभ्यासमा नेपाली सेनाको प्रतिनिधित्व गोरख बक्स गण तथा विशेष फौज बाहिनीका टोलीले गरेको थियो। सो प्रतिस्पर्धात्मक अभ्यासमा भाग लिने अन्य राष्ट्रको फौजमध्ये करिब ३३ प्रतिशत सहभागीले सो अभ्यास पूरा गर्न सकेका थिएनन्। बेलायतमा सैनिक युद्धकलाहरूमा आधारित क्याम्ब्रिन पट्रोल शुरु भएको ५० वर्षभन्दा बढी भइसकेको छ।

नेपाली सेनाले विगतमा विभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाई उत्कृष्ट नतिजा हासिल गर्न सफल भइरहेको परिप्रेक्ष्यमा यस प्रकारको अत्यन्त व्यावसायिक, समर्पित, साहसी र संयमित फौजले मात्र पूरा गर्न सक्ने अभ्यासमा सहभागी हुन शुरू गरेको केही वर्षभित्रै आफूलाई अब्बल प्रमाणित गर्दै स्वर्ण पदक जित्न सफल भएको छ।

अन्तर्राष्ट्रिय जगत्मा नेपाल र नेपाली सेनाको प्रतिष्ठा थप उच्च हुनुका साथै बेलायतलगायत अन्य सहभागी सेनाबीच रहेको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ भएको विश्वास लिँदै प्रतियोगिता आयोजना एवं सहभागिताका लागि नेपाली सेनालाई आमन्त्रण गर्ने बेलायती सेना तथा अभ्यासको तयारीका दौरान विविध सहयोग पुर्याउने बेलायती सेनाको ब्रिगेड अफ गोर्खाजप्रति नेपाली सेनाले धन्यवाद ज्ञापन गरेको छ।

प्रतिक्रिया दिनुहोस्