छटपर्वका लागि खर्च जुटाउँदै महोत्तरीका डोम समुदाय



गौशाला । छठपर्व नजिकिँदै जाँदा महोत्तरीका डोम समुदाय बाँस र बेतका चोयाबाट बनाइएका भाँडाकुडा बेचेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।

दश नगरपलिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा सात लाख जनसंख्यामध्ये करिब ८० प्रतिशतले छठपर्व मनाउने गरेकाले डोम समुदायले छठका व्रततालुलाई बाँस र बेंतका भाँडाकुडा बेचेर राम्रो आम्दानी गर्ने गरेको मनरा गाउँपालिका–१ का डोम रुदल मल्लिकले बताउनुभयो ।

छठ मनाउने प्रत्येक परिवारलाई बाँस र बेंतको चोयाबाट तयार गरिएका डालो, नाङ्लो, टपरीलगायतका नयाँ सामग्री आवश्यक पर्ने भएकाले आफूहरूले छठपर्वको बेला ती सामग्री बनाएर राम्रो आम्दानी गर्ने गरेको जलेश्वर–२ का रामजी डोमले बताउनुभयो ।

यही व्याबसायबाट निम्नस्तरका डोमले छठपर्व आउनासाथ कात्तिक महिनाभरि आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठो मसिनो खाने र राम्रो लगाउने शौभाग्य प्राप्त गर्ने गरेको महोत्तरीको विकट लोहारपट्टि नगरपालिकाकी ७० वर्षीया बुधनी डोमिनले बताउनुभयो ।

डालो बुन्दै गर्नुभएकी जिल्लाको एकडारा गाउँपालिकाकी ५० वर्षीया रुक्मिनीया डोमिनले भन्नुभयो, कात्तिक लाग्ने बित्तिकै घरका बच्चादेखि बूढासम्मले बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र टपरी बनाएर बजारमा बेच्दा मनग्य आम्दानी हुने भएकाले हामी निक्कै खुशी हुन्छाँै ।

छठपर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेंतबाटै बनाइएका डालो, नाङ्लो र टालुटपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच÷सात वटा बाँसका भाँडाकँुडा आवश्यक पर्छ ।

छठपर्वको आगमनसँगै डोमका घरआँगनमा पनि छठमाता र सूर्यदेवको प्रत्यक्ष उपस्थिति रहने गरेको विश्वासका साथ काम गर्ने गरेको पिपरा गाउँपालिकाका ४५ वर्षीय लक्ष्मण डोमले सुनाउनुभयो ।

त्यसैगरी जिल्लाको भंगहा नगरपालिकाका सुखारी डोमले घरका बालकदेखि बुढासम्मले डालो नाङ्लो बेचेर प्रतिव्यक्ति रू १० देखि रू २० हजार र प्रत्येक परिवारले सरदर रू दुई लाखसम्म आम्दानी गर्ने गरेको बताए ।

अहिले जिल्लाको गाउँगाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेंतको थुप्रो राखिएको छ भने परिवारका सबैले बाँस र बेंतका सामग्री बनाउन व्यस्त देखिन्छन् ।

दिनदिनै छठपर्व मनाउने व्यक्तिको संख्यामा वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुडा पु¥याउन भ्याइनभ्याइ भएको उनीहरू बताउँछन् ।
रासस

प्रतिक्रिया दिनुहोस्