‘सांस्कृतिक नगरी घोषणा गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण ’



नेपाल समाचारपत्र, ललितपुर ।
ललितपुर जिल्लालाई सांस्कृतिक र पर्यटकीय नगरी घोषणा गराउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको सम्बद्ध वक्ताहरुले बताएका छन् ।
नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाले नेपाल संवत् ११३८ नयाँ वर्ष, दिपावलीको अवसरमा पाटन संग्रहालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले सो कुरा बताएका हुन् ।

सो अवसरमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले ललितपुर जिल्ला धार्मिक, सांस्कृतिक र आर्थिक विकास र सम्भावनाका दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको चर्चा गर्दै त्यसलाई मूर्त रुप दिन सांस्कृतिक र पर्यटकीय जिल्ला घोषणा गर्नुपर्नेमा जोड दिनुभयो । सो कार्यका लागि स्थानीय सञ्चारमाध्यम र पत्रकाहरुको भूमिका महत्वपूर्ण रहेको पनि प्रमुख महर्जनको धारणा रहेको छ ।

ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले स्थानीय तहलाई सफल बनाउन सञ्चार क्षेत्रको भूमिका सशक्त हुुनुपर्ने खाँचो औल्याउँनुभयो ।
ललितपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष सविन श्रेष्ठले उद्योग वाणिज्य संघको संयोजनमा गठित यल सांस्कृतिक पर्व सरंक्षण समितिको सक्रियतामा लापोन्मुख मूर्त र अमूर्त सम्पदा जोगाउन पहल गरेको भन्दै जिल्लाको आर्थिक, सांस्कृतिक विकासका मुद्दा र यहाँको मौलिक पक्षलाई सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्ने खाँचो औल्याउँनुभयो ।

सो अवसरमा नेपाल प्रेस काउन्सिलका सदस्य शुभेच्छाबिन्दुले काउन्सिलले मातृभाषाको पत्रकारिताको विकासका लागि ठोस नीति ल्याउने तयारी गरिरहेको उल्लेख गर्दै नेपाली पत्रकारिताको दायरा फराकिलो पार्न मातृभाषाको पत्रकारिता फस्टाउनुपर्नेमा जोड दिनुभयो । उहाँले मातृभाषाको पत्रकारिताको विकासका लागि स्थानीय तहले प्राथमिकता दिन पनि आग्रह गर्नुभयो ।

नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले नेपाली सञ्चार क्षेत्रलाई समावेशी बनाउन, मातृभाषाको पत्रकारिताको विकासका लागि पत्रकार दबूले विविध कार्यक्रमहरु गर्दै आएको जनाउँदै यस कार्यले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतालाई अकुण्ठित बनाउने धारणा राख्नुभयो ।

नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाका अध्यक्ष सुरज व्यञ्जनकारको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा महानगरीय प्रहरी परिसर ललितपुरका उपरीक्षक देबबहादुर बोगटी, पत्रकार दबूका केन्द्रीय उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य टिकाराम प्रधान, नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष ज्ञानप्रसाद पौडेल, ज्यापू समाजका अध्यक्ष प्रेम महर्जन, नेपाल भाषा मंका खलः ललितपुरका अध्यक्ष ऋषिप्रसाद श्रेष्ठ, पत्रकार दबूका सचिव राजेश बज्राचार्य र कोषाध्यक्ष नविन ‘थेच्वमी’ लगायतले बोल्नुभएको थियो ।

उनीहरुले मातृभाषा, संस्कृति, सम्पदालाई संरक्षण गर्ने सवालमा सञ्चारमाध्यम संवेदनशील हुनुपर्नेमा जोड दिँदै आ आफ्नो भनाई राख्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्