‘परसेवा नै जीवनको उच्चतम उपलब्धि’



बेनी (म्याग्दी), वाक् कलाले पूर्ण, शिक्षित र सबल मानिस आफ्ना विचार र अरूलाई व्यक्त नगरी कति समयसम्म मौन बस्न सक्छ होला ? एक दिन, दुई दिन वा वढीमा एक हप्ता ! यहाँका एक साधु १६ वर्ष ६ महिनासम्म मौन व्रत बसी हालै मात्र बोल्न थाल्नुभएको छ ।

सिन्धुली पुख्र्यौली घर भई मुस्ताङको कुञ्जो कागबेनीमा बसोबास गर्दै आउनुभएका बालब्रह्मचारी राम स्वरुपानन्द सरस्वती (मौनगुरु)ले २०५७ मङ्सिरदेखि २०७४ वैशाख २ गतेसम्म मौनव्रत लिनुभएको हो । बाउन्न वर्षीय मौन गुरुले २०५७ साल मङ्सिर ४ गते मुक्तिनाथ मन्दिरमा देशमा शान्ति र आफूलाई आत्मज्ञान प्राप्त नहोउन्जेल मौन बस्ने संकल्प गर्नुभएको र सोही संकल्पानुसार १६ वर्षसम्म मौनव्रत बसेको बताउनुभयो ।

मौनव्रतका अवधिमा आफूले देशका विभिन्न धार्मिकस्थल, सामाजिक तथा मानवीय संघसंस्था र ऐतिहासिक स्थलको भ्रमण गरेको उहाँको भनाइ छ । भ्रमण र अध्ययनबाट जीवन र जगत्लाई बुझ्ने दृष्टिकोणमा परिवर्तन आउनाका साथै संविधानसभाको निर्वाचन सम्पन्न भई देशमा नयाँ संविधान जारी भएपछि शान्ति स्थापना हुने विश्वाससहित १६ वर्षदेखिको मौनव्रत भङ्ग गरी सामाजिक जीवनमा प्रवेश गरेको उहाँले बताउनुभयो ।

बेनी बजारमा भेटिनुभएका मौन गुरुले रासससँग कुरा गर्दै भन्नुभयो, “२०७२ सालको महाभूकम्पपछि नेपालीको मनमस्तिष्कमा सेवाभावको विकास भएको छ । जीवनमा अशक्त, दीनदुःखी र असहायको सेवा गर्दा मिल्ने स्वआनन्द संसारको कुनै धनसँग पनि तुलना हुन सक्दैन ।”

नेपालमा अब शान्ति स्थापना भइसकेको र समृद्धिको बाटालाई पछ्याउँदै अघि बढ्नाको विकल्प नभएको बताउँदै मौन गुरुले भन्नुभयो,“आफ्नो लागि पनि सोचौँ अलिकति, त्योभन्दा बढी समाज र देशका लागि सोचौँ, हामीले चाहेको सुख, शान्ति, समृद्धि र विकास हाम्रो सकारात्मक सोच र कर्मठ पाखुरीबाट नै प्राप्त हुन्छ ।” अबको बाँकी जीवन दुःखी, गरीब र असहायको सेवामा लगाउने प्रतिज्ञा गर्नुभएका मौन गुरुले परसेवा नै जीवनको उच्चतम उपलब्धि भएको बताउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्