भाइटीकाको साइत बिहान ११ः५१ बजे उत्तम



काठमाडौं  । यमपञ्चक अर्थात् तिहारको पाँचौं एवं अन्तिम दिन शनिबार अाज भाइटीका पर्व ।

दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिएर मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

दिदीबहिनीलाई पूजा गर्नाले अखन्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।

‘भाइटीकाको टीका शनिबार (भोलि) दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि बिहान ११ बजेर ५१ मिनेटको समय उत्तम छ, भाइटीकालगायत महत्वपूर्ण साइत अभिजित मुहूर्तमा दिइने भएकाले मध्याह्नको समय निकालिएको हो’–उनले भने ।

लक्ष्मीपूजाका दिन स्थापित दियो, कलश र गणेशको पूजा गरी मूलथालीमा अष्टदल लेखी त्यसमा मार्कन्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी स्थापना गरिन्छ ।

थालीमै चित्रगुप्त, यमराज, यमुना, धर्मराज र गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर सप्तरंगी वा पञ्चरंगी टीका, मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरंगी टीका लगाउने भनी प्रचार–प्रसार गरिएपनि शास्त्रीय मान्यता भने तिहारमा लगाइने टीकाको रङ रातो, सेतो, पहेंलो, हरियो र नीलो गरी पाँचओटा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले जानकारी दिए ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिइ सम्मान प्रकट गरिने धार्मिक एवं सामाजिक परम्परा छ ।

यस वर्ष टीका लगाउने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्कनुपर्ने उनले बताए ।

शनिबार पश्चिममा चन्द्रमा भएकाले लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कंदा सम्मुख हुन्छ । टीका लगाइदिनेभन्दा लगाइमाग्नेका लागि महत्वपूर्ण हुने भएकाले यसो गर्न अनुरोध गरिएको समितिले जनाएको छ ।

भाइटीका शनिबार परेकाले बिहान ८ बजेसम्म भने टीका नलगाउन अध्यक्ष गौतमले आह्वान गरे ।

शनिबार बिहान कालबेला पर्ने भएकाले ८ बजेपछि भने दिनभर टीका लगाउन बाधा नरहेको उनको भनाइ छ ।

दिदीबहिनी नहुनेका लागि भाइटीकाकै दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ ।

वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पले मन्दिर क्षतिग्रस्त भएकाले मन्दिरबाहिर तस्वीर राखेर पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाकै दिनमात्र खुल्ने गर्थ्यो ।

दिदीबहिनी नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गइ पूजा, दर्शन गरी टीका लगाउने गर्छन् । दिदीबहिनी नहुनेहरुका लागि अञ्जलि दिदीले पनि काष्ठमन्डपनिर टीका लगाइदिन्छिन् ।

यसैगरी, जयबागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि भाइटीकाको दिन दिदीबहिनी नहुने दाजुभाइले पूजा एवं दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव डा. गोविन्द टण्डनले जानकारी दिए ।

‘वि.सं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो, अहिलेपनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ’–उनले भने ।

वि.सं. २०३५ पछि नियमितरुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो ।

गोरखा भूकम्पले बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त बनेपछि खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवं दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस्