लक्ष्मीपूजाकै राति नौवटा गाई मृत अवस्थामा भेटिए



कपिलवस्तु । कपिलवस्तुमा बिहीबार राति नौ वटा गाई मृत अवस्थामा फेला परेका छन् । जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर २ पिपरामा ९ ओटा गाई रहस्यमय तरिकाबाट मृत अवस्थामा फेला परेका हुन ।

पूर्व–पश्चिम राजमार्गमै गाई मृत अवस्थामा भेटिएपछि स्थानीयबासी आचश्र्यचकित बनेका छन् । यति धेरैको सङ्ख्यामा गाई के कारणले मृत अवस्थामा भेटिए घटना रहस्यमय बनेको छ ।

गाईलाई सवारीसाधनले हानेको हुन सक्ने जिल्ला प्रहरी कार्यालयको प्रारम्भिक अनुमान छ । मृतमध्ये तीन वटा गाईलाई मात्र चोट लागेको र अन्य गाईमा चोट नदेखिएकाले यसै भन्न नसकिने प्रहरीले बताएको छ ।

घटनाको अनुसन्धान भइरहेको कपिलवस्तुका प्रहरी नायव निरीक्षक प्रह्लाद अधिकारीले जानकारी दिनुभयो । कुनै सवारी साधनले गाईलाई हानेको हो या कसैले हत्या गरेको हो यसको सूक्ष्म अध्ययन भइरहेको अधिकारीले बताउनुभयो ।

यता मृत अवस्थामा भेटिएका गाई भन्दा सशस्त्र प्रहरी बेस क्याम्प पिपरा ५० मिटर नजिकै रहेको छ । त्यहाँ रातभर सशस्त्र प्रहरी ड्युटीमा खटिने गरेका छन् । तर, सशस्त्र प्रहरीले पनि गाई कसरी मृत अवस्था फेला परे अनभिज्ञता प्रकट गरेको छ । यस्तै वडा प्रहरी कार्यालय पिपराको कार्यालय पनि मृत अवस्थामा भेटिएका गाई भएको स्थानदेखि करिब ४ सय मिटर अगाडी मात्र छ ।

मृत अवस्थामा भेटिएका गाईलाई शुक्रवार बिहान स्काभेटरको प्रयोग गरी सोही स्थानमै पुरिएको छ । पिपरास्थित सरोकारवाला पक्षको सहभागितामा गाई पुरिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्