तीन जुवाघरबाट २३ जुवाडे पक्राउ



म्याग्दी  । जिल्ला प्रहरी कार्यालयले सामाजिक विकृतिकोरूपमा रहेको जुवा नियन्त्रणलाई तीव्रता दिएको छ । बेनीका जुवाघरमा छापा मार्नेक्रममा एक हप्तायता तीनओटा जुवाघरबाट २३ जना जुवाडेलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिए ।

असोज २८ गते बेनीको पिपलचोकस्थित दीपशिखा होटलमा छापा मार्दा उक्त होटलका सन्चालक लेखनाथ शर्मासमेत सातजना पक्राउ पर्नुका साथै जुवाको खालबाट रु १३ हजार र चारथान तास बरामद भएको थियो ।

असोज ३१ गते गलेश्वरस्थित रमेश पुनको घरमा छापा मार्दा घरधनी पुनसहित तास खेलिरहेका ९ जना पक्राउ परेका थिए । उनीहरूको साथबाट नगद रू तीन हजार ८०० र चारथान तास बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कात्तिक १ गते स्थानीय कुमारी पुनको घरमा छापा मार्दा पुनसहित सातजनालाई तास खेल्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको र उनीहरूको साथबाट नेपाली नोट, भारतीय नोट र जुवा खेल्न प्रयोग गरिने सिक्कासमेत बरामद गरिएको थियो ।

पक्राउ परेका जुवाडेको नाम भने प्रहरीले सार्वजनिक नगरेको र उनीहरू राजनीतिक कार्यकर्ता, जनप्रतिनिधिदेखि समाजका वरिष्ठ भनिएका व्यक्तिसमेत रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्