फास्ट ट्रय्याकको मख्खु बेसक्याम्प निर्माण सम्पन्न, अन्य चार अन्तिम चरणमा



 

रोविन पौडेल, काठमाडौं
नेपाली सेनाले काठमाडौं–तराई⁄मधेस द्रुतमार्ग आयोजना निर्माण गर्ने १० वटा बेस क्याम्पमध्ये एउटाको निर्माण क्याम्प सम्पन्न भएको छ। द्रुतमार्ग निर्माणमा संलग्न कार्यदलका लागि सेनाले काठमाडौंको दक्षिणकाली–८, मख्खुबेंसीस्थित दोस्रो बेसक्याम्प निर्माण सम्पन्न गरेको हो। त्यस्तै अन्य ४ वटा बेसक्याम्प निर्माण कार्य अन्तिम चरणमा रहेको छ।

नेपाली सेनाले निर्माण गर्ने भनेको सुविधा सम्पन्न भौतिक पूर्वाधारमध्ये पहिलो बेसक्याम्प ललितपुरको खोकनामा रहेको छ। त्यस्तै दोस्रो बेसक्याम्प काठमाडौंको दक्षिणकाली नगरपालिका–८, मख्खुमा अवस्थित रहेको छ। सेनाका अन्य बेसक्याम्प कुलेखानी, महादेवबेंसी, देद्रे र लानेडाँडामा रहेका छन्। त्यस्तै, बुदुने, राज्माटार, अँधेरी र निजगढमा पनि सेनाले निर्माण कार्यदलका लागि बेसक्याम्प निर्माण हुने सेनाले जनाएको छ।

निर्माण हुने भनिएको १० मध्ये बाँकी ४ क्याम्पको निर्माण अन्तिम चरणमा पुगेका छ। वर्षायामको तथा प्रतिकूल मौसमका बाबजुत प्रथम चरणमा काम भइरहेका ५ क्याम्पमध्ये ३ महिनामै सेनाले दोस्रो क्याम्प निर्माण सम्पन्न भएको हो। बाँकी ४ स्थानका क्याम्पको निर्माण पनि चाँडै सम्पन्न हुने सेनाले जनाएको छ। निर्माणाधीन ५ वटै क्याम्पमा पुग्ने पुहुँच मार्ग सम्पन्न भइसकेको छ।

निर्माण कार्य सम्पन्न दोस्रो बेसक्याम्पको उद्घाटन बुधबार नेपाली सेनाका अधिकार सम्पन्न निर्देशक समितिका अध्यक्ष वलाध्यक्ष रथी पूर्णचन्द्र थापाले गर्नुभयो। काठमाडौंको दक्षिणकाली–८, मख्खुबेंसीमा रहेको नवनिर्मित सुविधासम्पन्न भौतिक पूर्वाधारसहितको बेसक्याम्प १ सय ३० रोपनीमा फैलिएको छ। तीन महिनामा निर्माण सम्पन्न हुने भनिएको क्याम्पको काम १० दिन अगाडि नै सकिएको हो।

नवनिर्मित बेसक्याम्प उद्घाटन गर्दै रथी थापाले बेसक्याम्प तोकिएको समयअगावै निर्माण सम्पन्न हुनुले फास्टट्रय्याकको काम पनि समयमै सम्पन्न हुने झल्को दिएको बताउनुभयो। उहाँले समयमै काम सम्पन्न गर्न सेना योजनाबद्ध रूपमा अघि बढेको पनि जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘फास्टट्रय्याकको निर्माणमा सम्बन्धित पक्षले निरन्तर सहयोग प्राप्त भएकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि जारी राख्न आग्रह गर्दछु।’
कार्यक्रममा बोल्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले संकटका बेला सेनाले विकास निर्माणमा सहयोग पुर्याउँदै आएकोमा प्रशंसा गर्नुभयो। त्यस्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सेनाले यो कार्य समयअगावै सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो।

नवनिर्मित क्याम्प निर्माणसँगै द्रूतमार्ग चौडा तथा कटिङको काम अझै तीव्र हुने सेनाले बताएको छ। साथै जग्गाको मुआब्जा तथा थप आवश्यक उपकरण व्यवस्था गर्न दोस्रो चरणमा थप ५ वटा क्याम्प निर्माण गर्ने सेनाको योजना छ। कार्यक्रमका अर्का अतिथि आनन्दराज रेग्मीले उच्च रणनीतिक महत्व बोकेको फास्टट्रय्याक निर्माण जिम्मेवारी सेनाले पाएकामा खुसी व्यक्त गर्नुभयो। राजधानी र तराईको आर्थिक, सामाजिक तथा सांस्कृतिक उत्थानमा सहयोग पुर्याउने फास्टट्रय्याक समयमै सक्न सेना सक्षम रहेको पनि उहाँको भनाइ थियो।

यस्तै दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले फास्ट ट्रय्याक निर्माणमा आफूले गर्नुपर्ने सबै खाले सहयोग गर्न आफू तयार रहेको बताउनुभयो। उहाँले निर्माणका लागि हेभी इक्युपमेन्ट ल्याउन सिस्नेरी–चोभार सडकखण्ड निर्माण गर्न नगरपालिकाले काम शुरू गरिसकेकाले यसका लागि सहयोग गर्न सेनालाई आग्रह पनि गर्नुभयो। फास्ट ट्रय्याकको डीपीआर निर्माण अन्तिम चरणमा पुगेको छ। फास्ट ट्रय्याकको कुल लम्बाइमध्ये ललितपुरमा ७ दशमलव ९ किमि, काठमााडौंमा ४ किमि, मकवानपुरमा ५६ दशमलव ७ किमि र बारामा ७ दशमलव ६ किमि सडकखण्ड पर्दछ। चार लेनको यस सडकको चौडाइ मेडियनसहित पहाडमा २३ किमि र तराईमा २५ किमिको हुनेछ। सडकखण्डमा क्रसिङ र कल्भर्टसहित ९९ वटा पुल रहनेछन्। द्रुतमार्गमा घटीमा ६५ किमि प्रतिघण्टा र बढीमा १ सय २० किमि प्रतिघण्टा गतिमा सवारी चलाउन सकिनेछ।

नेपाल सरकारले २०७४ वैशाख २१ गते फास्ट ट्रय्याक निर्माण कार्य नेपाली सेनालाई दिने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्