एलियन्स अमर रोबोट, अर्बौं वर्ष पुरानो भएको दाबी



न्युयोर्क (एजेन्सी)

यूएफओ प्रशंसकहरूले विश्वास गरेको जस्तै बाह्य ग्रहका जीव कमजोर, तालु र ठूल्ठूला आँखा भएका हुन सक्छन् वा पातलो अग्लो, गुलाफी आँखा भएका हरियो फुलेको जीउडाल भएका ? सम्भवतः त्यस्तो नहुन सक्छ, वैज्ञानिकहरू भन्छन्– ‘हामीले देखेको पहिलो एलियन यन्त्र जस्तै छन् र तिनीहरू हामीले सोचेभन्दा निकै पुराना हुन्।’

‘एलियन एआई (आर्टिफिसियल इन्टेलिजेन्स) पहिल्यै आइसकेको र अर्बौं वर्ष पहिलेको हुन सक्छ’, – युनिभर्सिटी अफ कन्नेक्टिक्ट तथा प्रिन्सटनस्थित इन्स्टिच्युट फर एडभान्स स्टडिजका सुसान स्नेइडेरले बताइन्।

स्नेइडेरले भनिन्– ‘अत्यन्त विकसित एलियन सभ्यता जैविक होला भन्ने मलाई पटक्कै लाग्दैन। अत्यन्त अत्याधुनिक सभ्यता भनेको उत्तरजैविक, आर्टिफिसियल इन्टेलिजेन्सको स्वरुपमा वा एलियन सुपर इन्टेलिजेन्सको स्वरुपमा हुनुपर्छ।’ डेली ग्यालेक्सीसँगको साक्षात्कारमा स्नेइडेरले भने– ‘अहिलेसम्मका सबै प्रमाणले दिएको नतिजाले बाह्य ग्रहको बुद्धिमताको अधिकतम् उमेर अर्बौं वर्ष पुरानो अर्थात् १ अर्ब ७० करोडदेखि ८ अर्ब वर्ष हुन सक्ने देखाएको छ।’

धेरैजसो अनुसन्धानकर्ताहरू हामीसँग जम्काभेट भएको पहिलो एलियन्स रोबोट हुने विश्वास राख्छन्। यसको कारण खोज्ने हो भने यी सबै सम्भावनाका कुरा मात्र हुन्। यो कुनै पनि एलियन सभ्यतालाई रेडियो सञ्चारबाट अर्ध रोबोटिक अमर मानवको विकासका लागि कति समय लाग्न सक्छ, भन्ने हो।

रेडियो तरंगको खोजदेखि अमर रोबोटमा रुपान्तरण हुन सक्ने जीव विकाससम्मको यात्रा सापेक्षिक रुपमा छोटो कालखण्ड हुने धरै वैज्ञानिकहरूको धारणा रहेको छ। गुगल्सका रे कर्जवेलले सन् २०५० सम्ममा पृथ्वीमा मानवले यन्त्रसँग आफूलाई समायोजन गरिसक्ने पूर्वानुमान गरेका छन्। यसले के देखाउँछ भने भविष्यमा हामीले आफूलाई यन्त्रमा परिवर्तन गरिसकेको अवस्थामा एलियन्सलाई भेट्न सक्ने विज्ञहरू बताउँछन्।

‘हामीले समात्न सकेका कुनै पनि संकेत कम्तीमा हामीभन्दा विकसित सभ्यताको हो भन्ने तथ्यमा घोत्लिनै पर्छ’ –सर्च फर एक्स्ट्राटेरेस्ट्रियल इन्टेलिजेन्सका सेथ सोस्टाक बताउँछन्। पुरातन भएर भन्ने हो भने औसत सभ्यताले १० हजार वर्षको अवधिमा रेडियोको प्रयोग गर्ला। विशुद्ध सम्भावनाका दृष्टिकोणबाट हामीभन्दा धेरै पुराना सभ्यतासँग साक्षात्कार हुनसक्ने सम्भावना अत्यन्त धेरै छ।

प्रतिक्रिया दिनुहोस्