दलीय गठबन्धन तासको घर



डा. टीकाराम पोखरेल

हालै भएको एमाले माओवादी केन्द्रबीचको चुनावी तालमेलले नेपाली राजनीतिक क्षेत्रमा एक खालको तरंग ल्याएको छ। खासगरी सत्ता नेतृत्व गरेको कांग्रेसलाई वाम गठबन्धनले झस्काएको छ भने एमाले–माओवादी वृत्तलाई उत्साह थपेको छ। विगतदेखि भन्दै आएको वाम एकताको प्रयासलाई एमाले–माओवादीले एक कदम अगाडि बढाएका छन्। तर यो गठबन्धनले केही प्रश्नहरु जन्माएको छ, जसले गर्दा यो गठबन्धनको भविष्य भने अन्यौलमा नै छ।

त्यसो त एमाले–माओवादीले गठबन्धन गर्नासाथ कांग्रेसले पनि वामइतर गठबन्धनको प्रयास थालेको छ। तर जसरी एमाले–माओवादी गठबन्धनभित्र धेरै कुरा अदृश्य र अन्यौलमा छ त्यसै गरी कांग्रेस नेतृत्वको गठबन्धन पनि अन्यौलमै बन्न लागेको छ। कांग्रेस नेतृत्वको गठवन्धन एमाले–माओवादीप्रतिको जवाफी फायर मात्र देखिन्छ। एमाले–माओवादी केन्द्र फायरिङ र कांग्रेस नेतृत्वको जवाफी फायरिङहरुले नेपाली राजनीतिको चुनावी परिणाममा भने फेरबदल अवश्य गर्नेछ। तर अझै पनि ५१ प्रतिशतको बहुमत भने कुनै पनि गठबन्धनको पुग्नेछैन।

एमाले–माओवादी केन्द्र गठबन्धन चुनावी तालमेल हो कि पार्टी एकता हो भन्ने कुरा अन्यौलपूर्ण छ। एकातिर पछि एकता गर्ने गरी अहिले तालमेल पनि भनिँदै छ भने अर्कोतिर एकता नै भैसक्यो कि भनेझैँ गरी डंका पनि पिटिँदै छ। कार्यकर्ता र जनतालाई भ्रम सिर्जना गर्न एमाले–माओवादी गठबन्धनले सक्दो प्रयास गरेको छ। पार्टी कार्यकर्ताहरुले अन्यौलमै उत्साहको ताली बजाइरहेका छन्।

वाम एकता गर्ने भनिएका यी एमाले–माकेबीच एकताका लागि केही समानता र केही भिन्नता छन्। एमाले र माके दुवै कम्युनिस्ट पार्टी हुन्। सतही सिद्धान्तमा केही भिन्नता भए पनि आधारभूत सिद्धान्तमा दुवै समान छन्। दुवैको क्रान्तिको लामो इतिहास छ। दुवै पार्टी जनताका बीचबाट उठेर आएका जनअनुमोदित हुन्। नेपालको परिवर्तनमा दुवै पार्टीको ठूलो योगदान छ। वर्तमान लोकतान्त्रिक गणतन्त्र दुवैको साझा प्रयासको प्रतिफल हो र वर्तमान संविधानलाई दुवै पार्टीले स्वीकार गरेका छन्। तर यति हुँदाहुँदै पनि ती पार्टीबीचको एकता भनौँ वा तालमेलमा धेरै कठिनाइहरु छन्।

पहिलो कुरा त यी दुवै पार्टीबीच कुनचाहिँ खाँट्टी कम्युनिस्ट पार्टी भन्ने इगोको लडाइँ छ। एकले अर्कालाई मूलधारको स्वीकार गर्न सकिरहेका छैनन्। त्यसमाथि नेताहरुबीच को ठूलो भन्ने जुँगाको लडाइँ पनि बाँकी नै छ। छुट्छुट्टै पार्टी हुँदासमेत आन्तरिकरुपमा जुँगाको लडाइँ व्यवस्थापन गर्न कठिनाइ भएको ती दुवै पार्टी एक हुँदा झन् को ठूलो र कसले के जिम्मेवारी लिने वा कुनचाहिँ प्रमुख नेता हुने भन्नेमा ठूलै द्वन्द्व हुनेछ। तल्लो तहसम्म स्थानीय कार्यकर्ताहरुको व्यवस्थापन पनि कम चुनौतीपूर्ण छैन।

चुनावमा ६० र ४० को अंश त एकताअगाडि नै लगाइयो। तर हिस्साको प्रतिशत टुंगे पनि कित्ता भने टुंगो लागेको छैन। कुन निर्वाचन क्षेत्रमा को उम्मेदवार हुने भन्ने कुरामा टिकट वितरण गर्दा ठूलो विवाद हुनेछ। दुवै पार्टीले जित्ने ठाउँमा आफ्नो दाबी छोड्ने छैनन्। यसले गर्दा फेरि घात–अन्तरघातको शृङ्खला दोहोरिनेछ। चुनावअगाडि नै एकता गर्न सकेको भए टिकट वितरणको मुद्दा त्यति पेचिलो हुने थिएन, जति उधारो एकीकरण अगाडिको चुनावी तालमेलमा हुनेछ।

एमाले र माकेको स्कुलिङ मिल्दैन। विगतमा एमाले झापा विद्रोहबाट उठेको भए पनि माकेले जस्तो सत्तासँग सशस्त्र युद्ध एमालेले गरेको छैन। वर्तमानमा आएर एमाले निकै प्रजातान्त्रिक भैसकेको छ, तर माओवादी केन्द्रमा तुलनात्मकरुपमा आन्तरिक प्रजातन्त्र कम छ। एमालेले महाधिवेशनमार्फत पदाधिकारी चयनको अभ्यास पटक–पटक गरिसकेको छ भने माओवादी केन्द्र अझै पनि नेतृत्व चयनको काम टीके प्रथामै विश्वास गर्दछ।

त्यसो त एकीकरण नभई चुनावी तालमेलको भरमा मात्र चुनावमा जाँदा एक पार्टीका कार्यकर्ताले अर्को पार्टीका नेतालाई इमानदारपूर्वक भोट हाल्लान् भन्ने कुरामा पनि त्यति भरपर्दो विश्वास गर्न सकिन्न। स्थानीय तहको चुनावमा गठबन्धनलाई मन नपराएर आफ्नो पार्टीका उम्मेदवारलाई मात्र भोट हाल्दा गठबन्धन पराजित भएका उदाहरण हाम्रै अगाडि बग्रेल्ती छन्। आउँदो चुनावमा पनि मतदाताहरुको त्योभन्दा फरक मानसिकता हुन्छ भनेर विश्वास गर्न सकिन्न। अहिले कार्यकर्ता मात्र होइन, मतदाता पनि सचेत छन्। मतदाता कुनै पार्टीलाई भोट हाल्छन् भन्दैमा त्यो पार्टीले मलाई भोट हाल्नुको साटो अर्को पार्टीलाई भोट हालिदेऊ भन्दा पनि सोही सोही पार्टीलाई जनताले भोट हाल्ने कुरामा विश्वास गर्न सकिँदैन। मत जनताको विवेक हो, व्यापार व्यवसाय होइन।
एमाले–माके एकता प्रयास भैरहँदा के प्रश्न उब्जन्छ भने, के कम्युनिस्टहरुको टुटफुटको जन्मजात रोग अब समाप्त हुन्छ ? के अब अरु भुरेटाकुरेहरु पनि यो वाम एकता प्रक्रियामा समाहित होलान् ? के अबका दिनमा जुँगाको लडाइँ समाप्त भएर साँचो कम्युनिस्ट पार्टी बन्ला ? अहँ पटक्कै बन्दैन। आगामी दिनमा ती क्रियाकलाप दोहोरिँदैन भन्ने कुनै पनि भरपर्दो आधार छैन। त्यसैले वाम एकताको यो सपना त्यति सजिलै पूरा हुने देखिँदैन।

नेपाली कांग्रेसले निर्माण गर्न लागेको चुनावी गठबन्धनको सैद्धान्तिक धरातल त झन् एमाले–माके गठबन्धनभन्दा पनि कमजोर छ । यो गठबन्धन त झन् विनागृहकार्य एमाले–माके गठबन्धनको जवाफी फायरिङ मात्र देखिन्छ। वर्तमान संविधानलाई स्वीकार नगरेको कमल थापा नेतृत्वको राप्रपादेखि राजपासम्मका दलहरु र कमल थापासँगै छुट्टिएको पशुपतिशमशेर राणासम्मको राप्रपालाई एकै ठाउँमा राखेर गठबन्धन बनाउने काम कल्पनामा जति सजिलो छ, यथार्थमा त्यति सजिलो छैन।

कम्युनिस्ट पार्टीको गुट र फुट जति पेचिलो छ, त्यो भन्दा बढी गुट र टुटफुट मधेसवादी दल र राप्रपाभित्र छ। भर्खरै मात्र फुटेको राप्रपाको एक पक्षले अर्को पक्षलाई कसरी मत हाल्ला ? चुनावी गठबन्धनमा माओवादीलाई भोट हाल्न कन्जुस्याइँ गरेका कांग्रेस कार्यकर्ताले कसरी इमानदारीपूर्वक राप्रपा र मधेसवादी दललाई भोट हाल्लान् ? यो त झन् पटक्कै सम्भव छैन।

छरिएका स–साना पार्टीलाई एकत्रित गरी गठबन्धन निर्माण गर्नु आफैँमा सकारात्मक कुरा हो। बेलायतजस्तो मुलुकमा कन्जरभेटिभ र लेबर दुई प्रमुख पार्टी अनि अमेरिकामा रिपब्लिकन र डेमोक्र्याट गरी दुई मात्र प्रमुख पार्टी हुनु तर हाम्रो जस्तो गरिब मुलुकमा झीना–मसिना दर्जनौँ पार्टी हुनु अवश्य पनि राम्रो होइन। धेरै पार्टी भए कसैको बहुमत नआउने र राजनीतिक अस्थिरता बढ्ने अनि त्यसले देशको विकास र निकासमा बाधा पर्ने हुँदा दुई शक्तिमा ध्रुवीकरण हुनु राम्रो हो। तर त्यो ध्रुवीकरण भनौं वा दुई सशक्त पार्टी निर्माण विनाआधार हुन सक्तैन।

दुई मात्र राजनीतिक शक्ति निर्माण गर्ने कुरालाई सकारात्मकरुपमा लिनुपर्ने भए तापनि यस्तो गठबन्धन र एकीकरण पार्टी कार्यकर्ताको चाहना र जनताको समर्थनमा हुनुपर्दछ। तर एमाले–माके गठबन्धन होस् वा कांग्रेसको गठबन्धन होस्, दुवै पार्टी कार्यकर्ताको भन्दा पनि नेताको चाहनामा भएको छ। यो लादिएको एकता हो। पार्टी र कार्यकर्ता तहमा गृहकार्यभन्दा पनि केही ठूला नेताको पदीय बाँडफाँडलाई आधार मानेर एकता गर्न खोजेको देखिन्छ। यसमा कार्यकर्ताको इच्छा वा अनिच्छाको कुनै स्थान छैन। जनता त यस्ता गठबन्धनप्रति झनै अन्यौलमा छन्। कसरी ध्रुवीकरण भयो भन्ने कुरामा विश्लेषकहरु अनुमानको खेतीमा सीमित छन्। जे भए पनि अन्यौलमै निर्माण भएका यी दुवै गठबन्धन तासको घरजस्तो छ, जसको जग सजिलै बन्छ तर घर पूरा बन्दा नबन्दै गर्लम्मै ढल्छ।

प्रतिक्रिया दिनुहोस्