फिल्म एकेडेमीका विद्यार्थी दीक्षित



 

कान्तिपुर फिल्म एकेडेमीले मंगलबार कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा आफ्ना विद्यार्थीको दीक्षान्त समारोहका अवसरमा प्रमाणपत्र प्रदान गरेको छ। दीक्षान्त समारोहमा अभिनय विधाका १३, फिल्म निर्माण र निर्देशन विधाका ९ तथा छायांकन विधाका ११ विद्यार्थीलाई प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष रामचन्द्र ढकाल र एकेडेमीका अध्यक्ष एवं फिल्म निर्माता छविराज ओझाले प्रमाणपत्रसहित खादा ओढाएर सम्मान गरेका थिए।

अभिनय विधाका अनिल कँडेल, सन्जोग रसाइली, राज थापा, कमल बोहरा, योगेन राई, मोहन जैसी, स्वप्निल घिमिरे, अरूण बेलवासे, सुसन के श्रेष्ठ, सुरेन्द्र बस्नेत, सजना थापा, गीता विष्ट र शिशिर पनेरुलाई सम्मानसहित प्रमाणपत्र वितरण गरियो। त्यस्तै निर्देशन र फिल्म निर्माणअन्तर्गत तेन्जिङ पाल्देन, असिन पौडेल, आत्माराम थापा मगर, सुविज्ञ सुन्दर श्रेष्ठ, रोनिस दाहाल, आशिष कुरुम्वान, परिच्छेद सेन, सुनिल कुमार चौधरीलगायत रहेका छन्। छायांकन विधाअन्तर्गत प्रविण राई, रूपकुमार विके, प्रसिम गुरुङ, मिलन तमाखु, विष्णु ठकुरी, अजीव अर्याल, आङवुरु शेर्पा, सरोज श्रेष्ठ, मिनुसा महर्जन रहेका छन्।

सोही अवसरमा पुरस्कृत विद्यार्थीहरूले निर्देशन, अभिनय तथा छायांकन गरेका फिल्महरू पनि देखाइयो। दीक्षान्त समारोहमा आमा, पोपर्टी, मक्तुब, मायाको संसार, द ग्रेट मुखिया र स्ट्राइक गरी ६ फिल्म देखाइएको हो। ६० सेकेन्डदेखि झन्डै आधा घन्टा अवधिको फिल्ममा कुनैको विषयवस्तु सस्पेन्स थ्रिलर, कुनैको सामाजिक नाटक, कुनैको साइलेन्स कमेडी र कुनैको राजनीतिक नाटक रहेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले फिल्मले भविष्य, वर्तमान र भविष्यलाई जोड्ने चर्चा गर्दै फिल्मको माध्यमबाट कुनै पनि देशको संस्कृति, साहित्य र प्राकृतिक परिवेश झल्किने बताए। ‘कलाकर्मी राष्ट्रको गहना भएकोले सरकारको त्यसतर्फ सदैव सहयोग र साथ रहने छु, –उनले भने। संस्थाका बारेमा प्रकाश पार्दै सिइयो प्रकाश पुरीले संस्था फिल्ममा लाग्न चाहने जो कसैका लागि पनि उत्कृष्ट गन्तव्य बन्न सक्ने बताए।

त्यस्तै संस्थाका अध्यक्ष ओझाले दीक्षान्त समारोहमा सहभागी विद्यार्थीले आगामी दिनमा अझ स्तरीय र उत्कृष्ट फिल्मकर्मी जन्माउनेबारे चर्चा गरे।

प्रतिक्रिया दिनुहोस्