तिहारको हार्दिक शुभकामना



नेपालीको महान् चाड तिहारको रौनक सबैतिर शुरु भइसकेको छ । काग, कुकुर, गाई–गोरु आदिको पूजा गरी जनावर एवम् प्रकृतिसँगको मानवसम्बन्ध दर्शाउने पर्वका रुपमा लिइने यस तिहार पर्वले सामाजिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको हुन्छ । साथै दाजुभाइ–दिदीबहिनीको सुमधुर स्नेहलाई बलियो बनाउन पनि यस चाडले विशेष भूमिका निभाएको हुन्छ । नेपालको मौलिक संवत् नेपाल संवत्को नयाँ वर्ष पनि यही तिहारबाट शुरु हुने भएकाले म्हपूजाको दिनलाई नयाँ वर्षको रुपमा समेत मनाउने गरिन्छ । यस पावन अवसरमा उन्नति–प्रगतिको कामनासहित एक–अर्कामा शुभकामना आदानप्रदान गरिन्छ । यसै क्रममा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता एवं शुभेच्छुकहरुमा हाम्रो पनि हार्दिक मंगलमय शुभकामना ।

भोलि म्हपूजाको दिनदेखि नेपाल संवत् ११३८ शुरु हुँदै छ । तिहारमा पर्ने यस दिनलाई नववर्षका रुपमा धुमधामसँग मनाइने गरिन्छ । राज्यले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिइसकेको छ । त्यसैले यसको प्रयोगमा पनि राज्यले चासो देखाउनै पर्छ । चान्द्रमासमा आधारित तिथिमितिहरू नै नेपाली समाजको सामाजिक, सांस्कृतिक, धार्मिक कार्यहरूमा प्रचलित छन् । दशैं–तिहारजस्ता चाडपर्व एवम् सबैजसो जात्रा, मेलाहरू चान्द्रमासअनुसार नै मनाउने गरिन्छ । त्यसैले नेपालको मौलिक संवत्लाई सबै क्षेत्रमा प्राथमिकताका साथ प्रयोग गरिनुपर्छ । साथै यस संवत्का प्रवत्र्तक शंखधर साख्वाको स्मृतिमा सिक्का निष्कासन, टिकट प्रकाशनसहित विभिन्न कार्यक्रमहरु गरिनुपर्छ ।

नेपालीले मनाउने गरेका यस्ता चाडपर्वहरुलाई अझ समृद्ध बनाउँदै जानुपर्छ । तिहार पर्वलाई धार्मिक एवं सांस्कृतिक पर्वको रुपमा लिइन्छ । त्यसैले यस पर्वमा द्यौसी–भैलो खेल्ने, झिलिमिली हुने गरी बत्ती बाल्ने, विभिन्न किसिमले मनोरञ्जन गर्ने, पिङ खेल्ने आदि कार्यलाई नियन्त्रण गर्नुभन्दा यस्ता कार्यलाई व्यवस्थित गर्नु उचित हुन्छ । किनकि यस्ता कार्य तिहारका पहिचान हुन् । तर तिहारमा जुवातास खेल्ने, द्यौसी–भैलोको नाममा जबरजस्ती रकम असुल्ने, मादकपदार्थ सेवन गरी होहल्ला मच्चाउने, गुन्डागर्दी गर्ने, क्षति पुग्ने गरी पटका पड्काउनेजस्ता विकृति भने नियन्त्रण गर्नै पर्छ ।

यस तिहार पर्वको पावन अवसरमा समस्त नेपाली दाजुभाइ–दिदीबहिनीहरुमा सुमधुर स्नेहभावसहित उन्नति–प्रगतिको कामना । साथै हाम्रा पाठक एवं ग्राहकवर्ग, विज्ञापनदाता, पत्रिका विक्रेतासहित समस्त शुभचिन्तकहरुमा पुनः हार्दिक मंगलमय शुभकामना ।

प्रतिक्रिया दिनुहोस्