सुरुङ मार्ग निर्माणले गति लियो



 

सुरेश तामाङ, काठमाडौं
नागढुंगा–सीतापाइला सुरुङ मार्ग निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइरहेको सडक विभागले जनाएको छ। राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सीतापाइला सुरुङ मार्ग बनाउन डीपीआरको काम तीव्ररूपमा भइरहेको विभागको वैदेशिक महाशाखाले जानकारी दिएको छ।

सो सुरुङमार्गको डीपीआर तयार पार्न एक जापानी कन्सल्टेन्सीले काम गरिरहेको र यस आर्थिक वर्षभित्र नै डीपीआर तयार पार्ने विभागका एक उच्च अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए।

२ दशमलव ५ किलोमिटर लम्बाइ रहने सुरुङमार्ग जापानी सहयोग नियोग (जाइका)को ऋण सहयोगमा निर्माण हुन लागेको हो। सुरुङ मार्ग काठमाडौंको सीतापाइलादेखि धादिङको नौबिसेसम्म निर्माण हुनेछ।
सुरुङ मार्ग निर्माणका लागि करिब २० अर्ब रुपियाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। सरकारले सुरुङ मार्ग निर्माण गर्न भन्दै ५ अर्ब ५४ करोड रुपियाँ बजेट विनियोजन गरिसकेको छ भने जापान सरकारसँग १६ अर्बको ऋण लिने सम्झौता गरिसकेको छ।

जाइकाले ० दशमलव १ प्रतिशत सहुलियत ब्याजदरमा नेपाललाई ऋण उपलब्ध गराउने छ भने बाँकी रकम नेपाल सरकारले बेहोर्ने विभागले जनाएको छ। उक्त ऋण भुक्तानी गर्ने अवधि ४० वर्षको हुने बताइएको छ।

राजधानीको मुख्य प्रवेशद्वार नागढुंगामा सुरुङ निर्माण भएमा ट्राफिक समस्या समाधान हुनुका साथै त्यस क्षेत्रमा हुने सवारी दुर्घटनामा समेत कमी आउने अनुमान विभागको छ।

सवारीको सर्वाधिक चाप हुने उक्त मार्ग उकालो, घुमाउरो र साँघुरो हुँदा ट्राफिक जाम अत्यधिक मात्रामा हुने गरेको छ। उक्त मार्गमा खाजा घरदेखि शौचालय, पसल, सर्भिस सेन्टरलगायतका सुविधा हुनेछन्। सुरुङमार्गमा दुई लेनको गाडी आवतजावत गर्न मिल्ने गरी निर्माण हुनेछ। सुरुङमार्गभित्रै पेट्रोल पम्पसमेत रहनेछ। सुरुङभित्र पार्किङ, फुटपाथ र रिपेयरिङ सेन्टरसमेत रहने बताइएको छ।

थानकोटदेखि नागढुंगा हुँदै यो सुरुङ मार्ग धादिङको सिस्नेखोलामा निस्कने गरी डिजाइन तयार पारिएको छ। सुरुङ मार्गको सम्भाव्यता अध्ययन पनि यसअघि जापानी सहयोग संस्था जाइकाले नै गरेको थियो।

विभिन्न सडक खण्डमा सुरुङ मार्गको आवश्यकता उठाइँदै आए पनि अहिलेसम्म नेपालमा एउटा पनि सुरुङ मार्ग बनेको छैन। वैकल्पिक सडक नहुँदा नागढुंगा—थानकोट खण्डमा लामो दूरीका सवारी साधन घन्टौं जाममा पर्ने गरेका छन्। परियोजनाको सम्भाव्यता अध्ययन जाइकाले पूरा गरिसकेको भए पनि मुअब्जा दिनेदेखि धेरै काम पहिला सक्नुपर्ने भएकाले सुरुङ निर्माणको काम भने सन २०१९ मा आरम्भ हुनेछ।

प्रतिक्रिया दिनुहोस्