न्याय बलियो भए मात्र विकास हुन्छ : प्रधानन्यायाधीश पराजुली



रोल्पा, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्याय बलियो भए मात्र विकासले गति लिने बताउनुभएको छ ।

आज रोल्पा जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानन्यायाधीश पराजुलीले जहाँका जनताले कानूनको पालना गर्दछन्, यहाँको समुदाय सम्बद्ध हुने विचार व्यक्त गर्नुभयो ।

आफू न्यायालयलाई आधुनिकीकरण गर्न लागिपरेको बताउँदै उहाँले ‘स्मार्ट जुडिसरी’का लागिसमेत पहल भइरहेको बताउनुभयो । जनतालाई छिटोछरितो न्याय दिन आधुनिक प्रविधिसँग न्यायालयलाई जोड्नुपर्ने उहाँको भनाइ थियो ।

रु तीन करोड ४७ लाखको लागतमा निर्मित सो भवन चारतला रहेको रोल्पा जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठले जानकारी दिनुभयो । १६ कोठे सो भवन २०६९ सालमा शिलान्यास गरिएको थियो ।

दुई वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको सो भवन निर्माण व्यवसायीले समयमै कार्य सम्पन्न गर्न नसक्दा तीनपटक म्याद थप गरी साढे पाँच वर्षपछि निर्माण सम्पन्न गरी गत फागुनमा हस्तान्तरण गरेको रोल्पा जिल्ला अदालतले जनाएको छ ।

उद्घाटन कार्यक्रममा न्याय परिषद्का सदस्यद्वय पदम वैदिक र रामप्रसाद सिटौला, सर्वोच्च अदालतका मुख्य रजिस्टार नहकुल सुवेदीलगायतको आतिथ्यता रहको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्