स्याङजाको आँधीखोलामा तीन लाख माछाका भुरा छाडियो



स्याङ्जा, गल्याङ नगरपालिकामा पर्ने आँधीखोलामा तीन लाख माछाका भुरा छाडिएको छ ।

आँधीखोला मत्स्य विकास सहकारी संस्था, मस्त्य कृषि अनुसन्धान परिषद् र नेपाल विद्युत् प्राधिकरणको सहयोगमा माछाका भुरा छाडिएको आँधीखोला मत्स्य विकास सहकारी संस्थाका कार्यबाहक अध्यक्ष छविलाल भुसालले जानकारी दिनुभयो ।

कालीगण्डकी मत्स्य ह्याचरीद्वारा उत्पादित नेपाल विद्युत् प्राधिकरणको अनुदानमा करिब रु ४५ लाखको लागतमा हाँडे, गर्दी र थ्रेड जातका माछाका भुरा छाडिएको हो । कालीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रमा पर्ने भएकाले वर्षेनी यस क्षेत्रमा माछाका भुरा अनुदानमा प्राप्त हुँदै आएको छ ।

कालीगण्डकी मत्स्य ह्याचरी बेल्टारीले वर्षेनी आठ लाखदेखि दश लाख माछाका भुरा उत्पादन गरी परियोजनाको प्रभावित क्षेत्रमा वितरण गर्दै आएको छ । गल्याङ नगरपालिका– ३ र ११ मा पर्ने आँधीखोलामा बुटवल पावर कम्पनीको जलाशयबाटमाथि डेढ लाख र जलाशयभन्दा तल डेढ लाख माछाका भुरा छाडिएको छ । गत वर्ष पनि सोही स्थानमा दुई लाख १० हजार भुरा छाडिएको थियो ।

आँधीखोलामा करेन्ट लगाएर, विष प्रयोग गरेर र बारुद हालेर माछा मार्ने गरेकाले गल्याङ नगरपालिकाले यस सम्बन्धी छुट्टै नीति बनाउने भएको छ । आँधीखोलाको पर्यावरणीय, जैविक विविधतालाई जोगाइ राख्न जनचेतनामूलक कार्यक्रम तथा यसको संरक्षणका लागि निश्चित संघ संस्थालाई जिम्मा लगाउन सकिने छ ।
रासस

प्रतिक्रिया दिनुहोस्