गोकुलेश्वर अस्पतालमा इमरजेन्सी बाहेकका सेवा बन्द, तलब नपाएको स्वास्थयकर्मीको गुनासो



विनोद सिंह विष्ट,बैतडी ।
दार्चुलाको शैल्यशिखर नगरपालिका गोकुलेश्वरमा रहेको गोकुलेश्वर अस्पतालमा बुधवारदेखि इमरजेन्सी बाहेकका सबै सेवा बन्द गर्ने स्वास्थ्यकर्मीहरुले निर्णय गरेका छन् ।

चालु आर्थिक बर्षको श्रावणदेखि अहिले सम्म तलब नपाएको भन्दै स्वास्थ्यकर्मीहरुले इमरजेन्सी बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको गोकुलेश्वर अस्पतालका सूचना अधिकारी भानदेव जोशीले जानकारी दिनुभयो ।

अस्पतालमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीको तलब नगरपालिकाबाट खुवाउने पत्र आएपनि नगरपालिकामा रकम निकासा नभएका कारण खुवाउन नसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर बिष्टले जानकारी दिनुभयो ।

यो बिषयमा शैल्यशिखर नगरपालिकाका नगरप्रमुख अमरसिंह धामीले नगरपालिकालाई तलब खुवाउन पत्र आएको तर अर्थमन्त्रालयले रकम निकासा नगरेकाले समस्या भएको बताउनुभयो । आफूले यो बिषयमा स्वास्थ्य सेवा विभागका महानिर्देशकसंग समेत कुराकानी गरेको उहाँले बताउनुभयो ।

गोकुलेश्वरमा मात्रै नभएर देशका अन्य अस्पतालको पनि रकम निकासा नभएकाले नआत्तिन उहाँले स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो । स्वास्थ्य सेवा नै बन्द गर्नु उचित नहुने नगरप्रमुख धामीको भनाई छ । तर स्वास्थ्यकर्मी र कर्मचारीहरुले भने आफूहरुले पैसाको अभावमा दशैंतिहार समेत मनाउन नपाएको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्