दलित र बिपन्नलाई बिद्युत मिटर जडान निशुल्क



पर्वत(नेस) ।

पर्वतको कुस्मा नगरपालिकाको एक वडाले दलित र बिपन्न परिवारलाई बिद्युत जडानका लागि अनुदान दिने निर्णय गरेको छ ।

कुस्मा नगरपालिका वडा नं १४ आर्थर डाडाँखर्कले वडा भित्रका न्युन आर्थिक अवस्था भएका दलित र अन्य जातिका पनि बिपन्न परिवारलाई बिद्युत मिटर जडानमा अनुदान दिने निर्णय भएको हो ।

बिपन्न र दलित परिवारका सदस्यले आर्थिक अभाबमा बिद्युतको मिटर जडान गर्न नसकेको र बिद्युत उपभोगमा समस्या देखिएपछि अतिबिपन्न परिवारलाई बिद्युत मिटर र तार खरिदमा अनुदान दिने निर्णय भएको वडा सदस्य होमनाथ रिमालले जानकारी दिए ।

कुस्मा नगरपालिका वडा नं १४ साबिकको आर्थर डाडाँखर्क गाबिसका तीन वडामा केन्द्रिय प्रसारण र बाँकी ६ वडामा सामुदायिक बिद्युतीकरण गरिएको छ । निर्वाचित जनप्रतिनिधीले जनतालई प्रत्यक्ष राहत दिने निर्णय भए अनुसार प्रतिबद्धता कार्यान्वयन गरिएको वडा अध्यक्ष भिमप्रसाद गुरुङ्गले बताए ।

यसैगरी वडाको मंगलबार बसेको बैठकले तिहारमा राती ८ बजे पछि देउसी भैलो नखेल्ने निर्णय पनि गरेको छ । रातको समयमा देउसी भैलो खेल्दा झैझडा हुने भएकाले शान्तिपुर्ण र मर्यादित बनाउन राती आठ बजे सम्म वडाभित्र देउसी भैलो खेल्न दिने निर्णय गरेको वडा अध्यक्ष भिमप्रसाद गुरुङ्गले बताए ।

 

प्रतिक्रिया दिनुहोस्