जुम्लाका जनप्रतिनिधि भन्छन्, ‘कर्मचारी अभावले कार्य सम्पादनमा समस्या भयो’



विषयगत कार्यालयका कर्मचारीमा कृषि, पशुसेवा र स्वास्थ्यका कर्मचारीबाहेक अरु कार्यालयका कर्मचारी गाउँपालिकामा पुगेका छैनन् ।

नन्दराम जैशी, जुम्ला ।
जुम्लाका ८ वटै स्थानीय तहका जनप्रतिनिधिले कर्मचारीको अभावमा आफ्नो क्षेत्रको कार्य सम्पादनमा समस्या भएको गुनासो गरेका छन् । स्थानीय तहको निर्वाचन भएको करिब पाँच महिना बितिसक्दासमेत कर्मचारी तोकिएको स्थानका कार्यालयमा नगएपछि सेवाग्राहीलाई सेवा प्रदान गर्न र विकास निर्माणका कार्यलाई अगाडि बढाउन समेत समस्या भएको जनप्रतिनिधिको गुनासो रहेको छ ।

कर्मचारीको अभाव र जनप्रतिनिधिको अधिकार प्रत्यायोजनका विषयमा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिले करिब चार महिनाको समयावधिलाई सम्मान ग्रहण, औपचारिक कार्यक्रम र बजेट विनियोजन लगायतका सीमित काममा नै खर्च गरेका छन् । पाँच महिनाको अवधिमा स्थानीय तहमा खासै उपलब्धिमूलक काम हुन नसकेको जनताको भनाइ रहेको छ ।

कर्मचारीको अभावमा जति काम हुनुपथ्र्यो त्यति हुन नसकेको स्वयं जनप्रतिनिधिले पनि स्वीकार गरेका छन् । गोठिचौर गाउँपालिकाका अध्यक्ष हरीबहादुर भण्डारीले विषयगत कर्मचारीबाहेक गाउँपालिकामा अन्य सिमित कर्मचारी मात्र भएकाले काम गर्न समस्या भएको बताउनुभयो । कार्यालय व्यवस्थापन हुन नसक्दा विषयगत कर्मचारी गाउँपालिकामा आउन नसकेको उहाँको भनाइ छ ।

पातारासि गाँउपालिका अध्यक्ष लक्षीमन बोहोराले पाँच महिनाको अवधिमा जनतालाई प्रत्यक्ष फाइदा पुग्नेगरी कुनै पनि काम गर्न नसकिएको स्वीकार गर्नुभयो । कर्मचारीको अभाव र भएका कर्मचारीको पनि परम्परागत मानसिकताका कारण सेवा प्रवाहमा समस्या भएको चन्दननाथ नगरपालिकाकि उपमेयर अप्सरादेवि न्यौपाने महतले बताउनुभयो । हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहिले कर्मचारीको अभावका कारण गाउँपालिकामा आएको बजेट पनि फ्रिज भएर जाने संकेत देखिएको दुखेसो व्यक्त गर्नुभयो ।

विषयगत कार्यालयका कर्मचारीमा कृषि, पशुसेवा र स्वास्थ्यका कर्मचारीबाहेक अरु कार्यालयका कर्मचारी गाउँपालिकामा नआएका उहाँले बताउनुभयो । कर्मचारीको अभावमा योजना कार्यान्वयनका लागि समस्या भएको अध्यक्ष शाहिको भनाइ छ । उहाँले भन्नुभयो, कर्मचारी नहुँदा हामीलाई समस्या भएको छ, योजना कार्यान्वयनका काम अलपत्र परेका छन्, जनतालाई भनेजस्तो सेवा दिन नसक्दा निरासा बढ्दै गएको छ । कम्प्युटर अपरेटरको अभावमा नियमित कार्यालयको कामसमेत हातले लेखेर गर्नुपरेको र गाउँमा आएका विषयगत कर्मचारीलाई कार्यालय व्यवस्थापन गर्न नसक्दा समस्या उत्पन्न भएको जनप्रतिनिधिहरुले बताएका छन् ।

जनप्रतिनिधिलाई पनि ठूलै चुनौती देखिएको छ भने जनताले पनि जनप्रतिनिधिबाट आशा गरेअनुरुपको सेवा पाउन सकिरहेका छैनन् । “जनताको ठूलो अपेक्षा छ, चुनावमा घरमै पुगेर दिएका आश्वासन पूरा गर्नुपर्नेछ । जनप्रतिनिधि दैनिकजसो जनताको काममा ब्यस्त भए पनि कर्मचारीको अभाव र भएका कर्मचारीको पनि कार्यशैलीका कारण जनताबाट गुनासो सुन्नुपरेको छ । जनप्रतिनिधिबाट हुनसक्ने र प्राप्त अधिकारलाई सदुपयोग गर्ने काम मात्र पाँच महिनाको अवधिमा भएका छन् ।

कर्मचारीको अभावका कारण विकास निर्माणसहितका ठूला योजनालाई अगाडि बढाउन नसकिएको तिला गाँउपालिका उपाअध्यक्ष बिष्णुमाया बुढाले बताउनुभयो । सिँजा गाँउपालिका अध्यक्ष देवलसिंह रावलले उहाँले भन्नुभयो, जनताको घरदैलोमा पुगेका छौँ, हामीबाट हुनसक्ने काम गरेका छौँ, कर्मचारीले गर्ने प्राविधिक र कानूनी काम हामीबाट नहुनेहुँदा कर्मचारी चाहिने हुन्छ । पाँच महिनासम्म कर्मचारी सम्बन्धित क्षेत्रमा नआउँदा समस्या उत्पन्न भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्