म्यादी प्रहरीमा एक हजारबढीले दिए आवेदन



प्रताप बानियाँ,म्याग्दी ।

म्यादी प्रहरीमा भर्ना हुन म्याग्दीमा युवायुवतीहरुको आकर्षण ह्वात्तै बढेको छ । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारले म्यादी प्रहरीको माग गरेको हो।

म्याग्दी जिल्लामा म्यादी प्रहरीमा भर्ना हुनका लागि युवादेखि अधबैंसे उमेरसम्मका १ हजार ३३ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । तीमध्ये ८ सय १० जना पुरुष र २ सय २३ महिलाले आवेदन दिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले बताउनुभयो ।

म्यादी प्रहरीको कात्तिक ५ गतेदेखि छनोट प्रक्रिया सुरु हुने बताउँदै उहाँले त्यसक्रममा स्वास्थ्य परीक्षण, शारिरीक अभ्यास, लिखित परीक्षा र अन्तर्वार्ता लिइने जानकारी दिनुभयो । सरकारले प्रदेश र केन्द्रीय संघको निर्वाचनमा आवश्यक पर्ने म्यादी प्रहरीको भर्ना आवेदन माग गरेपछि प्रहरी कार्यालयमा भीड लागेको थियो । आवेदन दिएकामध्ये अधिकांश अवकाश प्राप्त भूतपूर्व सैनिक, पूर्व म्यादी प्रहरी, कलेज उमेरका विद्यार्थीलगायत रहेको प्रनाउ खड्काले बताउनुभयो ।

म्यादी प्रहरी भर्नामा प्लस टु उत्तीर्ण, विदेशबाट फर्किएका युवा र अन्य क्षेत्रमा संलग्नलगायत समेत रहेका छन् । २०२० साल ६ महिना २० गतेदेखि २०५६ साल ६ महिना ३० गतेसम्म १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेको व्यक्तिलाई म्यादी प्रहरी भर्नाका लागि उमेर हदबन्दी तोकिएको छ । त्यस्तै म्यादी प्रहरी हुनलाई कुनै फौजदारी अभियोग नलागेको व्यक्ति, साधारण लेखपढ गर्न सक्ने र नेपाली नागरिकले दरखास्त दिन पाउने व्यवस्था गरिएको थियो ।

युवाहरुले नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणका साथै भुपु आर्मी, प्रहरीले सेवानिवृत हुँदाको प्रमाणपत्रका साथ १० रुपैयाँको हुलाक टिकट टाँस गरी फारम भरेर जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन् ।
म्यादी प्रहरी हुनलाई युवाहरुको उत्साहजनक सहभागिता रहेको छ भने महिलाको समेत आकर्षण बढेको प्रनाउ खड्काको भनाई छ । उहाँका अनुसार म्यादी प्रहरीले नेपाल प्रहरीको जवानले पाएसरहको सेवासुविधा पाउने र ५५ दिनको सेवा अवधि रहेको छ ।

दुई महिनासम्म घरमा त्यत्तिकै बस्नुभन्दा अनुभव समेत लिन पाइने र अलिकति कमाई पनि हुनेहुँदा आफूले आवेदन दिएको अन्नपूर्ण–८, राम्चेकी प्रिया पूर्जाले बताउनुभयो । स्वदेशमा रोजगारको अवसर कम भएका कारणले गर्दा पनि तोकिएको सङ्ख्याभन्दा धेरै निवेदन पर्न गएको बताइएको छ ।

गएको बैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गराउन सरकारले ७५ हजार म्यादी प्रहरी भर्ना गरेको थियो । यसपाली भने त्यो सङ्ख्या बढाएर देशभर ९८ हजार म्यादी प्रहरीको दरखास्त माग गरिएको छ । म्याग्दीमा गत स्थानीय तहको पहिलो निर्वाचनमा ४१८ जना म्यादी प्रहरीहरुलाई छनोट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्