अध्यक्षमा भट्ट निर्वाचित



 

काठमाडौं, (नेस)
गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट को निर्वाचित हुनुभएको छ। निर्वाचनको अन्तिम मत परिणामअनुसार भट्ट ले १ हजार १ सय ९७ मत पाई जियी हुनुभएको हो। उहाँकी प्रतिद्वन्द्वी जमुना घले गुरुङले ५ सय ८४ मत पाउनुभएको एनआरएनए निर्वाचन समितिले जानकारी दिएको छ।

सोमबार भएको निर्वाचनले आगामी २ वर्षका लागि अध्यक्षसहित ३८ पदमा नेतृत्व चयन गरेको हो। भट्ट अध्यक्षमा निर्वाचित भएसँगै एनआएनएको अधिकांश पदमा भट्ट प्यानलकै उम्मेद्वार विजयी बनेका छन्। मतदानमा कूल १ हजार ७ सय ८८ मतदानमा सहभागी रहेका थिए। विद्युतीय मतदान मेसिन प्रयोग गरेका कारण मतदानको परिणाम चाँडै आएको हो।

एनआरएनको अन्तर्राष्ट्रिय समन्वय परिषद्मा २१ जनाको कार्यसमिति रहेको छ।समितिमा पदाधिकारी सहित ६ क्षेत्र तथा महिला र युवा समितिको संयोजक र उपसंयोजक रहने व्यवस्था छ। सोमबार सम्पन्न निर्वाचनमा ३९ पदका लागि ८४ जनाले प्रतिस्पर्धा गरेका थिए। निर्वाचनबाट ११ जना निर्विरोध निर्वाचित भएका छन् भने १ पदमा उम्मेदवारी नै परेन।

यसैबीच एनआरएनएका नवनिर्वाचित अध्यक्षले सबैलाई मिलाएर संघलाई अगाडि बढाउने प्रक्रिया दिनुभएको छ। उहाँले निर्वाचित भएपश्चात प्रतिकृया दिँदै एनआरएनएलाई थप उचाइमा लैजान सबै पक्षसँग मिलेर काम गर्ने प्रतिक्रिया दिनुभएको हो। चुनाव नतिजा आफूले स्वभाविक रूपमा लिएको र अब संस्थालाई एकढिक्का बनाएर लैजाने उनको भनाइ थियो। भट्टले संघमा १ कार्यकाल कोषाध्यक्ष र २ कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएको छ। यसैबीच संघको २ खुला उपाध्यक्षमा कुमार पन्त (जर्मनी) र कुल आचार्य (बेलायत) निर्वाचित हुनुभएको छ। महिला उपाध्यक्ष पदमा भने सपिला राजभण्डारी (रुस) विजयी हुनुभयो। महासचिवमा डा. बद्री केसी (रुस) विजयी हुनुभयो। दुई सचिव पदमा डबरबहादुर क्षेत्री (ओमन) र जानकी गुरुङ (बेल्जियम) निर्वाचित हुनुभएको छ। कोषाध्यक्षमा हिक्मतबहादुर थापा (नाइजेरिया) पुनः निर्वाचित हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस्