३५ ओभरमै तेहेरो शतक



 

मेलबर्न, (एजेन्सी)
टेस्ट क्रिकेटमा ब्याटसम्यानले तेहेरो शतक लगाएको कुनै नौलो कुरा नभइसक्यो। टेस्ट ५ दिन चल्ने भएकाले यसमा ओभर धेरै हुन्छ र तेहेरो शतक त के ४ सय रन पनि बनेको छ। तर अस्ट्रेलियाका एक ब्याटसम्यानले ३५ ओभरको खेलमै तेहेरो शतक बनाएर क्रिकेट संसारमा आश्चर्य पारेका छन्। जोस डन्स्टनले घरेलु खेलमा ३ सय ७ रन जोडेर अनौठो चमत्कार देखाए। उनले कूल ४० छक्कासमेत प्रहार गरेका थिए। उनले वेस्टइन्डिजका सर विव रिचर्डसको रेकर्डलाई पनि पछि पारेका छन्।

पोर्ट अगस्टा क्रिकेट एसोसिएसनको बी ग्रेडको खेलमा वेस्ट अगस्टाले सेन्ट्रल स्र्टलिङविरुद्ध थियो। डन्स्टनले वेस्ट अगस्टाबाट खेलेको सो शनिबार भएको खेलमा उनको टोलीका ५ खेलाडी शून्यमै आउट भएका थिए। केवल एक ब्याटसम्यानले दोहोरो रन बनाएका थिए। रसेल (१८ रन) सँग डन्स्टनले सातौं विकेटका लागि २ सय ३ रनको साझेदारीसमेत गरेका थिए। यो साझेदारीमा रसेलको मात्र ५ रनको योगदान थियो।
अन्तर्राष्ट्रिय क्रिकेटको चर्चा गर्ने हो भने सबैभन्दा बढी रन वेस्टइन्डिजका पूर्वब्याटसम्यान विवियन रिचर्डसले बनाएका थिए। सन् १९८४ मा रिचर्डसले ओल्ड ट्राफोर्डमा इंग्ल्यान्डविरुद्ध १ सय ८९ रन बनाएका थिए। जबकी उनको टोलीले ९ विकटको क्षतिमा २ सय ७२ रन जोडेको थियो। टोलीको कूल स्कोर ६९.४८ प्रतिशत रन रिचर्डसको रह्यो। त्यही डन्स्टनले ३ सय ७ रन प्रहार गर्दा उनको टोली ३ सय ५४ रनमा समेटिएको थियो। उनको रन टोलीका लागि ८६.७२ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्