शंखधर साख्वा, नेपाल संवत् र हाम्रो दायित्व



 

नेपालको आफ्नै मौलिक नेपाल संवत् तिहारको चौथो दिन अर्थात् कार्तिक शुक्ल प्रतिपदाको दिनबाट शुरु भएको थियो। तिहारको भाइटीकाभन्दा अघिल्लो दिनबाट नयाँ वर्ष नेपाल संवत् शुरु हुने दिन राष्ट्रपति, उप–राष्ट्रपति, प्रधानमन्त्री तथा सबै राजनीतिक दलका प्रमुख नेताहरुले समेत शुभकामना मन्तव्य जारी गर्दै शंखधर साख्वाको सम्झना गर्छन्। राष्ट्रका मुख्य पदाधिकारीहरुले सधैँझैँ यस वर्ष पनि उसै गरी आफ्नो कर्तव्य पूरा गर्छन्, जसरी विगतका वर्षहरुमा पनि गरिन्थ्यो। अब पूरा एक वर्षपछि सोही तिथिमा यस्तै प्रेस विज्ञप्ति जारी गरी नेपाल संवत्को सम्झना र गणना गरिनेछ। बाँकी दिनहरुमा न नेपाल संवत्, न त शंखधर साख्वाको नाम नै सम्झना कसैले गर्नेछ।

विगतका केही वर्षमा नेपाल संवत्लाई सरकारी कामकाजी संवत्को रुपमा समेत प्रयोग गरिनेछ भनी तत्कालीन प्रधानमन्त्रीले समेत सार्वजनिक भाषण गरेका थिए। तर त्यो पनि भाषणमा मात्र सीमित रह्यो। अहिलेसम्म त्यसका लागि कुनै काम भएको छ वा कसैले प्रभावकारी पहल गरेको छ, थाहा छैन। गरेको भए काठमाडौंका नेवार समुदायले झीनो प्रयास गरे होलान्। अन्य नेपालीलाई खासै नेपाल संवत् र शंखघर साख्वाप्रति वास्ता छैन। मानौं यो विषयसँग नेवारबाहेक अरुको कुनै साइनो छैन। नेपाल र नेपालीको सरोकारसँग कुनै सम्बन्ध नभएको जस्तो। नेपालमा हुनुपर्ने काम नभएको लिस्टमा यो विषय पक्कै परेको होला।

स्वदेशको मौलिकपन झल्किने र प्रेरणदायी कार्य गर्न हाम्रो देश सधैँ आनाकानी गर्छ। यो विषय पनि त्यही प्रवृत्तिको सिकार भइरहेको छ, जो नहुनुपर्थाे। शंखधर कुनै राजा–महाराजा नभई एक व्यापारी भएको कुरा इतिहासले बताउँछ। तर उनले त्यति बेला पनि दूरगामी सन्देश दिने र प्रभाव पार्ने जुन कार्य गरे, जुन कार्य कुनै राज्यले गरेकोझैँ प्रतीत हुन्छ। उनले आफूलाई तिर्नुपर्ने हजारौं मानिसको ऋणमोचनको घोषणा गरेर ऐतिहासिक र साहसिक कार्य गरेका थिए। उक्त ऋणमोचन गर्ने घोषणा गरेको दिनलाई तत्कालीन राज्यले समेत ठूलो महत्व दियो र सोही दिनेलाई नेपाल संवत् शुरु भएको घोषण गर्यो। उक्त दिन आजभन्दा ११३८ वर्षअघिको थियो। जति बेला नेपाल भन्नाले काठमाडौँ खाल्डो (उपत्यका)लाई मात्र बुझिन्थ्यो।

महत्वपूर्ण कार्य जसले गरे पनि सबैले उत्तिकै रुपमा स्वीकार्नुपर्ने हो, तर यो घटनाको हकमा त्यस्तो हुन सकिरहेको छैन। जुन विषय राष्ट्र र जनताको हितमा हुन्छ, त्यसलाई प्रचारप्रसार गर्नु र प्रकृति हेरी सम्मान गर्नुपर्ने राष्ट्रको दायित्व हो। शंखधर साख्वाले ऋणमोचन घोषणा गरेको ११ सय वर्षपछि उनको यस अतुलनीय योगदानको सम्मान गर्ने भन्दै उनलाई राष्ट्रिय विभूति घोषणा गरियो। यो घोषणसँगै उनको योगदानलाई प्रत्येक नेपालीले थाहा पाउने गरी प्रचारप्रसार गर्न भनियो। प्रत्येक विद्यालयको पाठ्यक्रममा उनको जीवनी समावेश गर्ने आदि कुरा बताइयो। साथै नेपाल संवत्लाई अब व्यावहारिकरुपमा प्रयोग गरिने र सरकारी लेखापढीमा पत्राचार गर्दा नेपाल संवत् उल्लेख गरिने घोषणा गरियो। तर ती घोषणाहरु केवल घोषणामै सीमित भए।

त्यसपछिका दिनहरुमा उनको जीवनी जानेर, पढेर नैतिकवान्, चरित्रवान्, समाजसेवी र देशभक्त नागरिक उत्पादन गर्ने अभियानमा सम्बन्धित जिम्मेवार व्यक्तिहरु कसैले पनि चासो राखेनन्। फलस्वरुप अबको पुस्ता शंखधर साख्वा भनेको कुन चरोको नाम हो भन्ने अवस्थामा पुग्ने सम्भावना बढ्दो छ। राष्ट्र निर्माणको लागि जनस्तरबाट हुने यस्तो महान् कार्यलाई अनुकरणीय र प्रेरणादायी सन्देशको रुपमा सम्प्रेषण गर्नु राज्यको दायित्व हुनुपर्ने हो, जो हुन सकिरहेको छैन। अहिले आएर शंखघर साख्वाको नाम र नेपाल संवत्को सम्झनामा नेवार समुदायले मात्र वर्षमा एकदिन कार्तिक शुक्ल प्रतिपदा अर्थात् भाइटीकाको अघिल्लो दिनमा औपचारिक कार्यक्रम गर्दै आएको पाइन्छ। जुन कार्यक्रममा राष्ट्रका प्रमुख पदाधिकारीहरुलाई पनि निम्त्याइन्छ। त्यो पनि काठमाडौंबाहेकका स्थानहरुमा केवल नेवारहरु मात्र उपस्थित भएर नेपाल संवत् र शंखधरको चर्चा गरिन्छ। यसरी एक नमुना समाज सुधारकको विषयलाई ओझेलमा पार्दै जानु निश्चय नै राम्रो कुरा होइन।

समाजलाई दूरगामी सन्देश दिने व्यक्तिहरु युगौंपछि मात्र जन्मन्छन्। पछिल्लो समयमा जन्मिएका पृथ्वीनारायण शाह, भीमसेन थापा, भानुभक्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा, मोतीराम भट्ट आदि राष्ट्रिय विभूतिहरुको सम्झना जति जुन महत्वका साथ गरिन्छ, त्यो भन्दा अझ महत्व दिनुपर्ने शंखधरको विषय झनै विस्मृतितिर जानुहुँदैन। शंखधर केवल नेवार समुदायको मात्र सम्पत्ति होइनन्। नेवारहरुका लागि मात्र उनले त्याग गरेका थिएनन्। तर पनि उनी नेवार समुदायका भने पक्कै थिए। त्यसैले अब नेवारसहित सबै जातजातिले यो विषयलाई आत्मसात् गर्नु वाञ्छनीय हुनेछ।

आजभन्दा करिब पाँच दशकअघि चर्चित कम्युनिस्ट नेता मोहनविक्रम सिंहले प्युठानमा यस्तै प्रकारको (शंखधरको झैँ) ऋणमुक्तिको घोषणा गरेका थिए। आफ्ना पिता खिम विक्रमको बाहुबलबाट आर्जेको सम्पत्ति र आसामी धनको लोभ नगरी उनले एक गाँउ भेलाको आयोजना गरी यस्तो ऋणमुक्तिको घोषणा गरेका थिए। उनले सोही समयमा सबैको तमसुक कागज जलाएर ऋण लिँदा राखेको धितो फिर्ता गरेका थिए। उनको यस्तो कार्यको व्यापक चर्चा लामो समयसम्म भैरह्यो। आजसम्म पनि उनलाई यो घटनासँग जाडेर हेर्नेहरुको संख्या ठूलो छ। तर यो विषयको पनि खासै राष्ट्रियरुपमा चर्चा हुन सकेन। ऋण मुक्तिको घोषणसँगै उनले आफु कम्युनिस्ट भएको घोषणा पनि गरेको हुँदा तत्कालीन अवस्थामा उनको नाम र कामको चर्चा भूमिगतरुपमै हुने गथ्र्यो। यही घटनाले गर्दा उनी त्यागी नेताका रुपमा पनि चर्चित भए।
समाजमा विविध प्रकारले योगदान गर्नेहरु धैरै हुन सक्छन् तर राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश दिने यस्ता घटनाहरुलाई खोजी गरी राष्ट्रियकरण गरिनुपर्छ। असल कार्यको सम्मान गर्दै त्यस्तो कार्यको अनुशरण हुने गरी सन्देश प्रवाह पनि गर्नुपर्छ। जसले जसरी गरे पनि समाजलाई सकारात्मक प्रभाव पार्ने विषयलाई सबै जातजाति र समुदायले प्रेरणाको विषय बनाउँदै आत्मसात् गर्नु र गराउन प्रेरित गर्नु आजको प्रमुख आवश्यकता हो। आशा गरौँ अबका दिनहरुमा नेपालीहरुले नै गरेका यस्ता महान् कार्यहरुको अध्ययन, अनुसन्धान र प्रयोग हुँदै जानेछ। साथै सुसंस्कृत र नयाँ विकसित नेपालको निर्माणमा अपनत्व एवं आत्मीयताको इँटा पनि थपिँदै जानेछ।
– शंकर पौड्याल, काठमाडौं

प्रतिक्रिया दिनुहोस्