लक्ष्मीपूजामा रानी



 

कप्रिय युवा निर्देशक दयाराम दाहालको निर्देशन तथा भानु महर्जन र विमलमान गुभाजुको निर्माणमा बनेको फिल्म रानी तिहारको अवसर पारेर भोलि बिहीबार लक्ष्मीपूजाका दिन अल नेपाल रिलिज हुने भएको छ।
फिल्म शुक्रबार रिलिज गर्ने चलन भए पनि तिहारको अवसर पारेर बिहीबार नै रिलिजमा ल्याइन लागेको हो। त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्ममा नायक अनुपविक्रम शाही र मलिना जोशी नायिका रहेकी छिन् भने शारुक ताम्राकार र मनिष श्रेष्ठले यही फिल्ममार्फत् डेब्यु गरेका छन्।

‘यो फिल्मको मुख्य सन्देश कुनै पनि मिल्ने साथी तथा दाजुभाइले सबै कुरा सेयर गर्न सक्छन्, चाहे त्यो बेडरुम होस् या अन्य कुनै व्यक्तिगत चिज नै किन नहोस्। तर आफ्नो माया भने उसले कहिल्यै पनि बाँड्न सक्दैन भन्ने रहेको छ’, –निर्देशक दाहालले भने। अष्ट मर्हजनको द्वन्द्व र बब्बु थापाको नृत्य निर्देशन रहेको फिल्मका अन्य कलाकारमा ध्रुव कोइराला, रामचन्द्र अधिकारी, सीपी पौडेल, दयाराम दाहाल, सुवास गजुरेल, हेमा कोइरालालगायत रहेका छन्। यम थापाको कथा, पुरुषोत्तम प्रधान र मानकृष्ण महर्जनको छायांकन, अर्जुन जिसीको सम्पादन, एलिस कार्कीको पाश्र्व संगीत र विजय घिमिरेको संगीत रहेको फिल्मका गायक स्वयं घिमिरे र गायिका निकिता थापा हुन्।

फिल्म भरियाबाट फिल्म निर्देशनमा हात हालेका दाहाल २३ वर्षदेखि फिल्म निर्देशनमा सक्रिय छन्। दाइजो, दौतरी, ठूल्दाइ, अर्जुन, चाँदनी, तँ त साहै्र बिग्रिस् नि बद्री, ढुकढुकी, दशगजालगायत ५० को हाराहारीमा फिल्म निर्देशन गरेका उनका फिल्मले ३० दिनभन्दा माथि ५१ दिनसम्म मनाउन सफल भएका छन्। ‘म फिल्म इन्डस्ट्रिमा आएको २९ वर्ष भयो। ‘भरिया डाइरेक्सन गर्नुभन्दा पहिले मैले तुलसी घिमिरेसँग असिस्टेन्ट डाइरेक्सन गर्थें। यस बाहेक मुम्बईमा पनि मैले काम सिकेको थिएँ’, दयाराम भन्छन्– ‘ती सबै अनुभव रानीमा प्रदर्शन गर्ने कोसिस गरेको छु।’ दयारामको रानीसँगै रेखा फिल्म्सको व्यानरमा बनेको फिल्म रुद्रप्रिया पनि बिहीबार नै रिलिज हुने भएको छ। नेपाल चलचित्र संघले रिलिजमा आएकै दिन टेलिभिजनमा प्रसारण गरिने फिल्मलाई हलमा प्रदर्शन नगरिने निर्णय गरेपछि लामो विवादपश्चात् रेखाले रुद्रप्रिया टेलिभिजन र हलमा एकसाथ रिलिज गर्न लागेकी हुन्। यो फिल्ममा लामो समयपछि रेखाका साथ आर्यन सिग्देललाई पनि देखिनेछ।

प्रतिक्रिया दिनुहोस्