स्वास्थ्यचौकीमा सिटामोल छैन



 

नेपाल समाचारपत्र
बाँके
वनकट्टीका नूर अमहद खाँ शरीर चिलाउने र स–साना फोका आएपछि स्थानीय स्वास्थ्य चौकीमा आए। अहेव खुमराज भण्डारीले खाँको समस्या बुझेर शरीर हेरेपछि एक बोत्तल झोल र केही ट्याब्लेट दिए। औषधि हेरेपछि खाँले मल्हम मागे। अहेव भण्डारीले मल्हम छैन, सिद्धिएको छ भनेर पठाए।

त्यसपछि अर्की महिला सानो बच्चा लिएर आइन्। बच्चाको समस्या बुझेपछि उसलाई झोलमा सिटामोल दिनुपथ्र्यो। त्यो औषधि वनकट्टी स्वास्थ्य चौकीमा सिद्धिएको छ।

सरकारले स्वास्थ्य चौकीबाट ३५ प्रकारका औषधि निःशुल्क पाइने घोषणा गरेको छ। दैनिक ६० जना बढी औषधि गर्न आउने वनकट्टीमा यतिबेला धेरै प्रकारका औषधि छैनन्। बिरामी स्वास्थ्य चौकीमा आएर रित्तो हात फर्किरहेका छन्।

अहेव भण्डारीले दाद, चिलाउनेलगायतका समस्या हुँदा लगाउने मल्हमजन्य, एन्टिएलर्जी ट्याब्लेट, बच्चालाई दिने झोलजन्य सिटामोल, एमोक्स, भिटामिन बी, आइरन चक्की सिद्धिएको जानकारी दिनुभयो। भण्डारीले अरू औषधि पनि रित्तिँदै गएको बताउनुभयो। स्वास्थ्य चौकीमा टाउको दुख्ने, ज्वरो, चिलाउने, घाउ भएका बिरामीको चाप रहने गर्दछ।

दैनिक ठूलो संख्यामा बिरामी आउने बैजापुर उपस्वास्थ्य चौकीमा जिल्ला जनस्वास्थ्य चौकीले भर्खरै औषधि पठाएकाले समस्या छैन। उपस्वास्थ्यका इन्चार्ज हीरामणि गुरौ थारूका अनुसार, दुई हप्तासम्म सबै प्रकारका औषधि छन्। बैजापुरमा दैनिक दुई सय बिरामी आउँछन्।

जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेले अहिलेसम्म गतवर्ष खरिद गरेको औषधि स्वास्थ्य संस्थाहरूमा पठाइरहेको छ। राज्यको पछिल्लो पुनर्संरचना अनुसार जनस्वास्थ्यको बजेट कटौती भएको छ। सबै बजेट गाउँपालिकामा गएको छ। तर, अहिलेसम्म कुनै पनि गाउँपालिकाले स्वास्थ्य संस्थाका लागि औषधि खरिद गरिसकेका छैनन्। ‘स्टक रहेको औषधि थोरै रहेकाले छिटो औषधि खरिद गर्न हामीले गाउँपालिका प्रमुखहरूलाई भनिरहेका छौं’ –जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका प्रमुख खिमबहादुर खड्काले भन्नुभयो।

जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दका अनुसार, स्टक औषधि एक महिना पनि नपुग्ने रहेको छ। यो बीचमा गाउँपालिकाले औषधि खरिद नगरे अवस्था गम्भीर हुन सक्छ।

गाउँपालिकाहरूले कतिपयले परिषद् नभएको त केहीले औषधि खरिदको टेन्डर प्रक्रियामा रहेको बताइरहेका छन्। खरिद प्रक्रियामै जाँदा पनि केही समय लाग्छ। यो बीचमा स्वास्थ्य संस्थामा औषधिको हाहाकार हुने देखिएको छ। पुरानो संरचनामा जिल्ला जनस्वास्थ्यमा पैसा आउँथ्यो र उसले खरिद गरेर औषधि पठाउने गर्दथ्यो। बजेटजति गाउँपालिकामा गएपछि यो वर्ष जनस्वास्थ्यमा जम्मा १० लाख बजेट आएको छ। नयाँ संरचनाअनुसार गाउँपालिकाले सबै औषधि खरिद गर्नुपर्छ। केन्द्र र जिल्ला जनस्वास्थ्यबाट केही अत्यावश्यक औषधि पठाउन सक्छन्। जनस्वास्थ्यले महामारी हुँदा या शिविर गरेर औषधि दिने बताइएको छ।

शिक्षा, स्वास्थ्य, कृषिलगायतका सबै प्रकारका अधिकार गाउँपालिकामा आएको छ। कर्मचारी पनि गाउँपालिका सरेका छन्। वनकट्टी स्वास्थ्य चौकीमा कर्मचारीको पनि लथालिंग छ। भएका माथिल्ला कर्मचारी गाउँपालिकातिर गएका छन्। तल्लो तहका कर्मचारी मात्रै स्वास्थ्यचौकीमा रहेका छन्। के गर्ने, कसो गर्ने तल्लो तह कर्मचारीहरू अन्योलमा छन्। ‘औषधि सकिएको छ, कहाँ भन्न जाने ?’ –कर्मचार बताउँछन्।

प्रतिक्रिया दिनुहोस्