बजार क्षेत्रको फोहोरमैला व्यवस्थापन हुन सकेन



 

गणेश घिमिरे, इलाम
४ नगरपालिका र ६ वटा गाउँपालिका रहेको इलामका मुख्य बजार क्षेत्रहरू दिन प्रतिदिन दुर्गन्धित र फोहोर बन्दै गइरहेका छन्। इलाम नगरपालिकाकै बजार क्षेत्रभित्र दैनिकरूपमा फोहोर उठ्न सकेको छैन। नगर क्षेत्रका सबै ठाउँमा फोहोर उठाउने कार्य नगरपालिकाले नगरका इलाम नगरको बजार क्षेत्रमा फोहोर बढ्दो क्रममा छ। नगरपालिकाभित्रकै बिब्ल्याँटे, नेपालटार, भञ्ज्याङ क्षेत्रका बजारमा पनि फोहोर थुप्रने क्रम बढ्दा बजार क्षेत्र दिन प्रतिदिन दुर्गन्धित बन्दै गइरहेको छ।

इलाम नगरपालिकालाई देशकै दोस्रो सफा शहरको रूपमा सरकारले घोषणा गरे पनि घोषणाअनुसारको क्रियाकलाप हुन सकेको छैन। बजार क्षेत्रको अस्पताल लाइन्, सब्जी पसल लाइन, कुलधारा क्षेत्रलगायतका धेरै स्थानमा दिनहुँ फोहोर उठ्न नसकेको हो। इलाम नगरपालिका कार्यालयले भने इलाम नगरपालिका क्षेत्रमा दिनहुँ फोहोर उठाउँदै आएको जनाएको छ। भूगोल र जनसंख्याको हिसाबले सबैभन्दा ठूलो नगरपालिकामध्ये पूर्वी क्षेत्रमा रहेको सूर्योदय नगरपालिकाको अवस्था पनि उस्तै रहेको छ। उक्त नगरपालिकाकै मुख्य केन्द्र मानिने फिक्कल बजार क्षेत्रमा विगत एक महिनादेखि फाहोर उठ्न सकेको छैन। फिक्कलमा संकलन हुने फोहोरलाई व्यवस्थापन गर्न लैजाने स्थानको सडक बिग्रिएकाले बजार क्षेत्रमा फोहोर थुप्रिएको हो।
नगरपालिकाले फोहोर व्यवस्थापन गर्ने वैकल्पिक स्थानको खोजी नगर्दा बजार क्षेत्रमा फोहोर थुप्रिएको हो। फोहोरमैला व्यवस्थापनका लागि झापास्थित अभियान नेपाल संस्थाले ठेक्का पाए पनि संकलित फोहोर नउठाएपछि सूर्योदय नगरपालिका क्षेत्रको फिक्कल, पशुपतिनगर, तीनघरे, कन्याम, हर्कटेलगायतका बजार क्षेत्र दुर्गन्धित बन्दै गएको छ। दिनमा २ टनसम्म फोहोर संकलन हुँदै आएको सूर्योदय नगरपालिको बजार क्षेत्रमा अहिले जहाँतहीं फोहोरको थुप्रो लागेको छ। पुरानो डम्पिङ साइटमा फोहोर फ्याक्न नसकिएकाले केही दिनभित्रै अर्को डम्पिङ साइटको जग्गा व्यवस्थापन गरी बजार क्षेत्रको फोहोर उठाइने सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले बताउनुभयो।

जिल्लाको पश्चिमी क्षेत्रको देउमाई नगरपालिकाको पनि विभिन्न बजार क्षेत्रमा फोहोर मैला व्यवस्थापन हुन सकेको छैन। सो नगरपालिकाको मुख्य केन्द्र मंगलबारे बजार क्षेत्रकै व्यवस्थापन हुन सकेको छैन। बजार क्षेत्रको सडकमा फुटपाथमा पसल थाप्नेदेखि सवारी पर्किङको समेत उचित व्यवस्थापन हुन सकेको छैन। त्यहाँको मंगलबारे बजार क्षेत्रको फोहोरमैलाको उचित व्यवस्थापन हुन नसक्दा बजार क्षेत्र दुर्गन्धित बन्दै गएको हो। इलाम, सूर्योदय र देउमाई नगरपालिकाका बजार क्षेत्रमा मात्र नभएर दक्षिणी इलामको माईनगरपालिकासहित जिल्लाका अन्य ६ वटै गाउँपालिकाका बजार क्षेत्रको फोहोरमैलाको उचित व्यवस्थापन हुन सकिरहेको छैन।

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचत भएर आएका जनप्रतिनिधिले भने फोहोरमैला व्यवस्थापनसहित खानेपानीको सहज पहुँच, सवारी पार्किङ व्यवस्थापन जस्ता विषयहरूको चाँडोभन्दा चाँडो समाधान गर्नेतर्फ आफूहरू लागिरहेको जनाउँदै आएका छन्। पर्यटकीय जिल्ला इलाममा फोहोर तथा सवारी पार्किङको उचित व्यवस्थापन नभए जिल्लाकै सिंगो पर्यटन व्यवसायमा असर पुग्ने पर्यटनको क्षेत्रमा काम गर्ने निकायले जनाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्