तिहारमा मात्रै असर्फी विक्री गर्छ टक्सार



 

काठमाडौं, (नेस)
टक्सार विभागका कर्मचारीलाई आजभोलि भ्याईनभ्याई छ। उनीहरूलाई बोल्ने फुर्सद पनि छैन। किनकि तिहारका लागि असर्फी किन्नेको घुइँचो लागेको छ। तिहारमा मात्रै असर्फी छपाइ गर्ने विभागले लाइनमा बस्ने सर्वसाधारणलाई असर्फी विक्री गर्ने गरेको छ।

विभागले १० ग्रामको चाँदी र १०, ५ र २ ग्रामको सुनको असर्फी छापेर विक्री गर्ने गरेको छ।

‘हामीलाई अहिले फुर्सद नै छैन, असर्फी किन्नेको घुइँचो लाग्ने गरेको छ।’ –विभागका निर्देशक सतेन्द्र तिमल्सिनाले भन्नुभयो। उहाँका अनुसार विभागले हाल गणेश र लक्ष्मीको फोटो अंकित चाँदीको १० हजार असर्फी तयार गरेको छ। लक्ष्मीको ६ र गणेशको ४ हजार गरी चाँदीको १० हजार छपाइ गरेको जानकारी गराउँदै भन्नुभयो– ‘माग अधिक भए पनि छपाइ गर्न सकिएको छैन।’

दशैंपछि काम शुरु गरेका कारण असर्फी छपाइ गर्न ढिलाइ भएको विभागको तर्क छ। एक हप्ताको समयमा सुन र चाँदीको गरी १५ हजार थान असर्फी तयार पारेको विभागको भनाइ छ। विभागले १० ग्रामको ५ सय, साढे २ ग्रामको २ हजार ५ सय थान असर्फी छापेको छ। १० ग्राम असर्फीको करिब ५० हजार पर्ने गरेको छ। सुनको मूल्य उचार चढाव हुने भएकाले असर्फीको भाउ सुनको मूल्यअनुसार भए पनि चाँदीको एउटा सिक्काको १ हजार रुपियाँ मूल्य तोकिएको छ। नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले तिहारमा सुनको असर्फीको अलावा चाँदीको गणेश, लक्ष्मी र गजलक्ष्मीको तस्वीर अंकित सिक्का प्रकाशित गर्ने गरेको जानकारी गराउँदै भन्नुभयो– ‘वर्षेनि जति संख्यामा छपाइ हुँदै आएको छ, यो वर्ष पनि त्यही तुलनामा छपाइ गरेको छ।’

विभागले असर्फी र सिक्का खरिद गर्ने सर्वसाधारणका लागि टोकनको व्यवस्था गर्ने गरेको छ। ‘पहिला टोकन दिन्छौं त्यसपछि प्रत्येकलाई एक–एक थानको दरले उपलब्ध गराउने गरेका छौं।’ –पण्डितले भन्नुभयो।
एक साता अघिसम्म मूल्य तय हुन नसकेर सुनको असर्फी विक्रीवितरणका रोक लगाएको विभागले केही दिनअघि मात्रै विक्री शुरु गरेको हो। प्रवक्ता पण्डितले आज बुधबारसम्म सुनको असर्फी र चाँदीको सिक्का विक्री गरिने बताउनुभयो। सिक्का उत्पादन गर्न करिब एक साता लाग्ने भएकाले सीमित मात्रामा उत्पादन गरेको जानकारी गराउँदै निर्देशक तिमल्सिनाले यो वर्ष पनि गत वर्षकै हाराहारीमा उत्पादन गरेको जानकारी गराउनुभयो।

‘पहिला गाल्नुपर्यो, त्यसपछि पाता बनाएर चक्की बनाउनुपर्यो, अनि बल्ल सफा गरेर सिक्का बनाउनुपर्ने भएकाले सिक्का बनाउन केही ढिलो भएको हो।’ –उहाँले भन्नुभयो। टक्सार विभागले नेपालमा सिक्का उत्पादन गर्न छाडे पनि दशैं र तिहारमा भने असर्फी र चाँदीको सिक्का उत्पादन गर्न छाडेको छैन। वर्षौं पुरानो मेसिन भएकाले सिक्का उत्पादन गर्न समस्या भएको विभागको भनाइ छ। विभागमा ७० वटा सिक्का बनाउने मेसिन भए पनि हाल ३५ वटा मात्रै चालू अवस्थामा रहेको छ। मेसिन चालू भएपछि बेलाबेलामा समस्या आउने भएकाले सिक्का बनाउन ढिलो हुने गरेको विभागको भनाइ छ। विभागमा हाल ३४ जना कर्मचारी कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्