माओवादीका सबै मन्त्री विना विभागीय



मधुसूदन रायमाझी, काठमाडौं ।
सत्तारूढ दल नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति भएपछि रुष्ट बन्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका सबै मन्त्रीहरूलाई विना विभागीय मन्त्री बनाउनुभएको छ। संवैधानिक व्यवस्थाअनुसार मन्त्री हटाउने व्यवस्था नरहेकाले प्रधानमन्त्री देउवाले माओवादीका १७ जना मन्त्रीहरूलाई विना विभागीय मन्त्री बनाउनुभएको हो।

माओवादी केन्द्रका मन्त्री सरकारबाट हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका सांसदलाई समावेश गरेर सातौंपटक मन्त्रिमण्डल विस्तार गर्दा पनि माओवादीले सरकारबाट आफ्ना मन्त्री नहटाउने निर्णय गरेको थियो। माओवादीले मंगलबार सरकारलाई दिएको समर्थन फिर्ता लिने र आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने अन्तिम तयारी गरे पनि सरकारले निर्वाचन सार्ने षड्यन्त्र गरेको भन्दै सरकारबाट नहट्ने निर्णय लिएको थियो।

प्रधानमन्त्रीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्री फिर्ता बोलाउन आग्रह गर्नुभएको थियो। जवाफमा प्रचण्डले निर्वाचन हुने सुनिश्चित भएको अवस्थामा मात्र सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउन सकिने बताउँदै आउनुभएको थियो। माओवादीले सरकार निर्वाचनको मिति सार्ने गम्भीर षड्यन्त्रमा लागेको सूचनाका आधारमा विना विभागीय मन्त्री भएर पनि सरकारमै रहिरहने निष्कर्षमा पुगेको माओवादीका एक मन्त्रीले बताए।

वामगठबन्धन बनेपछि प्रधानमन्त्री देउवा र प्रचण्डबीच सम्बन्ध बिग्रिएको थियो। संवैधानिक अड्चनका कारण प्रधानमन्त्री देउवाले चाहेर पनि माओवादीका मन्त्रीलाई हटाउन सक्नुभएन। माओवादीले आफ्ना मन्त्री फिर्ता नबोलाए पनि विना विभागीय बनाउने अन्तिम विकल्प प्रधानमन्त्रीले रोज्नुभएको थियो। देउवा नेतृत्वको सरकारमा माओवादीबाट नौ मन्त्री र आठ राज्यमन्त्रीको सहभागिता रहेको थियो। माओवादीले कात्तिक पाँच गतेसम्म सरकारमा विना विभागीय मन्त्रीको हैसियतमै रहने र त्यसपछि पुनर्विचार गर्ने तयारी गरेको छ।

गत असोज १७ गते एमाले, माओवादी र नयाँ शक्तिबीच चुनाव गठबन्धन र पार्टी एकतामा जाने सहमति बनेपछि सत्तारूढ दल कांग्रेस र माओवादीबीचको सम्बन्धमा खटपट आएको थियो।

देउवा र प्रचण्डबीच सम्बन्ध बिग्रिएपछि असोज २८ गते प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल विस्तार गर्नुभएको थियो। देउवा माओवादीको समर्थनमा गत जेठ २३ मा प्रधानमन्त्री हुनुभएको थियो। कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमतिअनुसार प्रचण्ड २०७३ साउन १९ मा प्रधानमन्त्री हुनुभएको थियो। त्यसैगरी प्रचण्डको राजीनामापछि सहमतिअनुसार देउवा प्रधानमन्त्री हुनुभएको थियो।
प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका एक मन्त्रीलाई भने जिम्मेवारी दिनुभएको छ। माओवादीबाट जनसंख्या तथा वातावरण मन्त्री हुनुभएका मिथिला चौधरीलाई प्रधानमन्त्री देउवाले विना विभागीय नबनाई जिम्मेवारीमा निरन्तरता दिनुभएको छ। चौधरी सरकार गठन हुने बेलामा नेकपा संयुक्तबाट मन्त्री हुनुभएको थियो। संयुक्त र माओवादी केन्द्रबीच एकता भएपछि उहाँ माओवादीबाट मन्त्री रहँदै आउनुभएको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले पार्टी एकीकरणको औपचारिक निर्णय नभएका चौधरीलाई विना विभागीय मन्त्री नबनाइएको जानकारी दिनुभयो।

 

यी हुन् माओवादीका विना विभागीय मन्त्रीहरूः
मन्त्रीहरू
कृष्णबहादुर महरा
जनार्दन शर्मा
टेकबहादुर बस्नेत
गिरिराजमणि पोखरेल
आशा कोइराला
सन्तकुमार थारु
महेन्द्रबहादुर शाही
प्रभु साह
शिवकुमार मण्डल
राज्यमन्त्रीहरू
मोहम्मद जाकिर हुसैन
रामसिंह यादव
श्यामकुमार श्रेष्ठ
शम्भुलाल श्रेष्ठ
कर्णबहादुर विक
छमबहादुर गुरुङ
गोमा कँुवर
ओङदी शेर्पा

प्रतिक्रिया दिनुहोस्