मतपत्र विवादको निर्णय आज



 

काठमाडौं, (नेस)
प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र फरक हुनुपर्ने मागसहित सर्वोच्चमा दायर मुद्दाको फैसला आज बुधबार हुने भएको छ। एउटै मतपत्र हुँदा मतदाता झुक्किने भन्दै मतपत्र फरक हुनुपर्ने माग गरिएको छ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले दशैंअघि नै मतपत्र फरक गर्नुपर्ने मागसहितको ज्ञापनपत्र निर्वाचन आयोगलाई बुझाएको थियो। उक्त ज्ञापनपत्रको सुनवाइ नभएपछि राजपाका नेता सर्वेन्द्रनाथ शुक्लाले सर्वोच्चमा मुद्दा दायर गर्नुभएको थियो।

शुक्लाले रिटमा आगामी निर्वाचनमा मतपत्र चारवटा बनाउनुपर्ने, प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ताको तालिका सार्नुपर्ने माग गर्नुभएको छ। मनोनयन रोक्न असोज २२ गते नै दर्ता भएको रिटमा सोमबार पुनः मतपत्रको विषय थपेर पूरक निवेदन पेस भएको थियो।

मंगलबार संयुक्तरूपमा दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको इजलासमा पेशीका लागि राखिएको थियो। असोज २३ गते प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलासले हेर्न नभ्याएको यो रिट २४ गते ओमप्रकाश मिश्रले कारण देखाऊ जारी गरी अन्तरिम आदेशका लागि छलफलमा डाक्नुभएको थियो।

मंगलबार भएको बहसमा एक जना कानुन व्यवसायीको बहस बाँकी रहेको निर्णय सुनुवाइ बुधबारका लागि सरेको हो।

निर्वाचन सार्न खोजेका होइनौंः राजपा

राजपाका नेता सर्वेन्द्रनाथ शुक्लाले नेपाल समाचारपत्रसँग कुराकानी गर्दै भन्नुभयो।

‘हामीले निर्वाचन सार्न खोजेका होइनौं। हामीले मतपत्र सच्याउन भनेका हौं।’ शुक्लाले विश्वका कुनै पनि देशमा प्रदेश र केन्द्रको एउटै मतपत्र नभएको बताउँदै भन्नुभयो– ‘संविधानमा पनि प्रदेशसभा र प्रतिनिधिसभाका विषय अलगअलग धारामा छ। निर्वाचनपछि सरकार पनि फरक फरक बन्नेछ। तर निर्वाचनमा एउटै मतपत्र किन राख्नु? मतपत्र पनि फरक हुनुपर्छ।’ आफूहरूको मनसाय निर्वाचन सार्ने नभएको बताउँदै शुक्लाले आफूहरूको माग पूरा गर्न आग्रह गर्नुभयो। उहाँले सर्वोच्चको फैसला पक्षमा आए पनि १५ दिनमै नयाँ मतपत्र छाप्न सकिने बताउनुभयो। अहिले पनि आफूहरूले समयमै निर्वाचन चाहेको शुक्लाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्