राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउने सूचना दिनेलाई १० मिलियन डलर प्रस्ताव



तस्बिर : एजेन्सी

अमेरीका। हस्टलरका प्रकाशक ल्यारी फ्लिन्टले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाभियोग लगाउनका लागि सूचना माग्दै वासिंगटन पोष्टमा विज्ञापन गरेका छन् । गत आइतबारको वासिंगटन पोष्टमा फुलपेज विज्ञापन गरेर बहालवाला राष्ट्रपतिविरुद्ध सूचनाको माग गरिएको हो ।

रोचक कुरा त के छ भने यदि कसैले ट्रम्पलाई महाभियोग लगाउन पर्याप्त रहेको सूचना दिन्छ भने फ्लिन्टले १० मिलियन डलर पुरस्कारस्वरुप दिने घोषणा नै गरेका छन् । उक्त विज्ञापनलाई फ्लिन्टले व्यापक रिट्विट गरेका छन् ।

२०१६ मा अप्रत्याशित रुपमा अर्बपति बिजनेसम्यान रहेका ट्रम्पले जितेपछि उनी विरोधीहरुका लागि टाउको दुःखाइ बन्दै गएका छन् । झन् एकपछि अर्को गरी पूर्वराष्ट्रपति बाराक ओबामाका कार्यकारी आदेशहरु उल्ट्याउनथालेपछि ट्रम्पप्रति रोष प्रकट गर्ने डेमोक्र्याट्स बढ्दै गएको बेला विज्ञापनले यसलाई बल दिएको छ ।

ट्रम्प राष्ट्रपतिजस्तो शक्तिशाली पदमा बस्नयोग्य नभएको भन्दै विज्ञापन गरिएको हो । ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएदेखि नै झमेला नै झमेला सिर्जना गरेर अमेरिकामा उनलाई काम गर्न नदिन विरोधीहरुले भरमग्दुर प्रयास गरिरहेका छन् । खासगरी उनको रुससँगको बिजनेस रिलेसन र चुनावमा रुसले सघाएको भन्ने विषयमा एउटा काउन्सिल नै गठन गरेर ट्रम्प क्याम्पेनका पदाधिकारीको निकटता र रुसी सहयोगबारे अहिले पनि अनुसन्धान भइरहेको छ ।

अर्को रोचक कुरा के भने ट्रम्पलाई नरुचाएको मध्येको वासिंगटन पोष्टमा यो विज्ञापन छापिएको हो । त्यसो त पहिलेदेखि नै फ्लिन्टले राजनीतिज्ञमाथि प्रमाण जुटाउन पैसा दिएर सूचना किन्ने अफरहरु गर्दै आएका थिए ।

एजेन्सीको सहायोगमा

 

प्रतिक्रिया दिनुहोस्