भ्रष्टाचारी कांग्रेस नेता खुमबहादुर खड्काको आडमा उम्मेदवारसँग असुली धन्दा



नेपाल समाचारपत्र, काठमाडौं ।
अदालतबाट भ्रष्टाचारमा दोषी ठहर भएका केन्द्रीय सदस्य खुमबहादुर खड्कालाई नेपाली कांग्रेसको उम्मेदवार सिफारिस गर्ने संसदीय समितिमा राखिसकेपछि उनका निकट नेताहरु जिल्ला जिल्लामा टिकटका आकांक्षी उम्मेदवारहरुसँग पैसा असुल्न थालेका छन् ।

खड्का निकट केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेलले प्रदेससभामा टिकट दिन्छु भन्दै केही ब्यक्तिसँग पैसा लिइसकेको खुलासा भएको छ । नवलपरासी कांग्रेसका उपसभापति अर्जनकुमार पोखरेलसँग प्रदेससभाका लागि सुनवल क्षेत्रबाट उम्मेदवार बनाइदिन्छु भनेर आधा करोड रुपैयाँ लिइसकेको उजुरी पार्टीका नेताहरुसमक्ष पुगेको छ । नवलपरासीबाट चुनाव जितेका कांग्रेसका महामन्त्री सशांक कोइरालासमक्ष कण्डेलले गएको स्थानीय तहको चुनावदेखि अहिलेसम्म टिकट दिने भनेर धेरै जनाबाट रकम लिएको गुनासो पुगेको छ ।

गएको स्थानीय तहको निर्वाचनमा रामग्राम नगरपालिकाको प्रमुखको टिकट दिने भनेर बैद्यनाथ जयसवालसँग ५० लाख, बिधान कार्कीसँग ३० लाख र नरेन्द्र गुप्तासँग ४० लाख लिएको आरोप कण्डेलमाथि लागेको छ । नरेन्द्र गुप्ताले टिकट पाएर चुनाव जितेको ५ महिना बित्दा पनि जयसवाल र कार्कीको रकम कण्डेलले फिर्ता नगरेको गुनासो महामन्त्री कोइरालादेखि बरिष्ठ नेता रामचन्द्र पौडेलसम्म पुगेको छ ।

कण्डेलले सुनवल नगरपालिकाको प्रमुखमा उम्मेदवार बनाउने भनेर भीमबहादुर थापासँग २५ लाख र नेत्र भट्टराईसँग ४३ लाख लिएको कांग्रेसनिकट स्रोत बताउँछ । थापाले टिकट पाएर मेयर भए । तर भट्टराईले न त टिकट पाए न त लामो समयसम्म पैसा नै फिर्ता पाउन सके । बल्लतल्ल कण्डेलले २० लाख त फिर्ता दिए तर उनको अझै २३ लाख लिन बाँकी छ ।

पार्टी उपसभापति अर्जुन पोखरेलसँग यसअघि टिकट दिने भनेर ४० लाख लिएका कण्डेलले २० लाख तिर्न बाँकी छ । तर फेरि यो पटक प्रदेशको टिकटको नाममा उनले थप रकम लिइसकेका छन् । उनले टिकट पाउने नपाउने ठेगान छैन । कण्डेलले जिल्ला समन्वय समिति सदस्य बनाउनका लागि प्रत्येकसँग ५ लाख लिएको उजुरी पनि कांग्रेस नेतासमक्ष पुगेको छ । २०६४ र ०७० को संविधानसभा निर्वाचनमा पराजीत भएका कण्डेल खुमबहादुरकै कोटामा केन्द्रीय सदस्य भएका हुन् । दुईपटक पार्टी सभापति भइसकेका उनी सीमा क्षेत्रबाट तस्करी गर्दागर्दै राजनीतिमा आएका हुन् ।

केरुङ्गे लगायत अरुङ खोलाबाट अवैध रुपमा नदीजन्य गिट्टीबालुवाको उत्खनन् रोकेपछि गएको पुसमा नवलपरासीका स्थानीय विकास अधिकारी (एलडीओ) जीवलाल भूसाललाई कण्डेलकै समूहले २ महिनामै सरुवा गरेको थियो । भूसाल हाल धादिङको एलडीओ छन् । ठेकेदार र कण्डेलको दबाबमा भुसालको सरुवा गरिएको समाचार सार्वजनिक भएको थियो ।

एलडीओ भुसालले अवैध रुपमा गिट्टीढुंगा संकलन गरेको आरोपमा २७ वटा ट्रिपर नियन्त्रणमा लिएका थिए । दाउन्ने पूर्वको कावासोतीको केरुङ्गे खोलामा दिनहुँ धेरै मात्रामा गिट्टी निकालेको भन्ने गुनासो आएपछि अनुगमन गर्दै भुसाल नेतृत्वको जिल्ला अनुगमन समितिले अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरी विक्रीवितरण गर्ने स्मृति निर्माण कम्पनी साविक मध्यविन्दु–५ लाई ६५ लाख रुपैयाँ जरिवाना तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्