तस्करी गर्ने डिएसपीकाे पाेल खुल्याेः ​८८ केजी सुन काण्डमा संलग्न !



काठमाडौैं ।   दुई महिनाअघि काठमाडौंमा बरामद भएको ८८ केजी सुन प्रहरीकै  सेटिङमा भित्रिएको  प्रष्ट भएको छ । पक्राउ परेका व्यक्तिहरूले सुन बोकेको गाडी प्रहरीले नै चलाएर रसुवागढी नाकाबाट नेपाल  पास गराइदिएको बयान दिएका छन् । प्रहरीले सोमबार ८८ केजी सुन तस्करीमा सेटिङ मिलाउने जिम्मा लिएका रसुवाका मानबहादुर तामाङलाई पक्राउ गरेको छ । उनले रसुवामा प्रहरीसँग सेटिङ मिलाएर सुन  तस्करी गर्दै आएका थिए । । नेपाल–चीन केरुङ व्यापार संघका अध्यक्ष रहेका तामाङ आसन्न निर्वाचनमा कांग्रेसबाट समानुपातिकतर्फ प्रदेश सभा सदस्यमा सिफारिस भएका व्यक्ति हुन् ।
महानगरीय अपराध महाशाखाले उनलाई स्वयम्भूको सानोभ¥याङस्थित घरबाटै पक्राउ गरेको हो । ‘तस्करीमा उनको संलग्नता प्रस्ट भएपछि पक्राउ गरेका हौँ,’ महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले भने, ‘उनले सुन कसरी पास गराएका थिए भन्ने अनुसन्धान भइरहेको छ ।’ चालक र पक्राउ परेका सुन पसलेहरूले उनको नाम पोलेको स्रोत बताउँछ ।
तामाङको प्रहरी अधिकारीहरूसँग घनिष्ट सम्बन्ध थियो । रसुवाबाट पक्राउ परेका दुई चालकले सीमा क्षेत्रमा सशस्त्र प्रहरीका एक हवल्दारले नै सो गाडी चलाएर नाका कटाएको बयान दिएका छन् । तर, प्रहरीले ती हवल्दारलाई पक्राउ गर्न चासो दिएको छैन । स्रोतका अनुसार सशस्त्र प्रहरीका हाकिमलाई सेटिङ मिलाएर तामाङले तिनै हवल्दारलाई गाडी चलाउन लगाएका थिए । सशस्त्र प्रहरीले नै चलाएको गाडी भएपछि चेकिङ नहुने भएकाले उनलाई चलाउन लगाइएको थियो । सो गाडीमा भिआइपी लोगोसमेत राखिएको थियो । एसएसपी लोहनीले नाकाबाट सुन पास गराउनेहरू अनुसन्धानमै रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्