‘कम्युनिस्टको शासन आए जनताले बोल्न लेख्न पाउँदैनन्’



काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन पार्टीका सम्पूर्ण नेता–कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई खतरामा पर्न नदिन पनि आसन्न दुवै तहको निर्वाचनमा कांग्रेस विजयी हुनुको विकल्प नरहेको दावी समेत गर्नुभयो । नेपाल विद्यार्थी संघद्वारा समसामयिक सन्दर्भमा आयोजित राष्ट्रिय प्रशिक्षण कार्यक्रमलाई मंगलबार काठमाडौंमा उद्घाटन गर्दै देउवाले निर्वाचनमा कांग्रेसलाई विजयी गराउने गरी जुझारु र गतिशील भएर जनतासँगको सम्बन्ध घनिष्ट बनाउन पार्टीका नेता कार्यकर्तालाई सचेत गराउनुभयो ।

प्रधानमन्त्री देउवाले कांग्रेसले चुनाव हारे मुलुकको लोकतन्त्र नै खतरामा पर्ने चेतावनी दिनुभयो । उहाँले मुलुकमा कम्युनिस्ट शासन आए सर्वसत्तावाद सुरु हुने र जनताको बोल्ने, लेख्ने अधिकार समेत हनन् हुने दावी पनि गर्नु भयो ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षाका लागि पनि काँग्रेसले चुनाव जित्नै पर्ने दावी गर्नु भयो । उहाँले कम खर्चमा चुनाव गरेर लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी पूरा गर्न नेपाल विद्यार्थी संघका नेतृत्वलाई निर्देशन पनि दिनुभयो ।

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा कम्युनिष्टहरुलाई परास्त गरेर मुलुकको लोकतन्त्रलाई सुदृढ बनाउने दायित्व पूरा गर्न नेपाल विद्यार्थी संघको नेतृत्वलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा नेपाल विद्यार्थी संघका नेताहरुले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एकतावद्ध भएर कांग्रेसलाई विजयी बनाउन लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्