खेल मैदानमै गोलकिपरको निधन



 

जाकार्ता, (एजेन्सी)
खेलको मैदानमा खेलाडीको ज्यान जाने क्रम अझै रोकिएको छैन। एउटा सानो गल्तीले खेलाडीको ज्यान जाने गर्छ। यस्तैमा एक खेलाडीको खेल दौरान आइतबार ज्यान गएको छ।

इन्डोनेसियामा खेलिएको फुटबलको लिग खेलमा चर्चित गोलकिपर कोरुल हुडाको मृत्यु भएको छ। उनले बल लिने क्रममा साथी खेलाडीसँग जुधेर ज्यान गुमाउनुपरेको थियो। २०१४ मा हुडा इन्डोनेसियाको राष्ट्रिय टोलीमा खेलेका थिए। अहिले उनी इन्डोनेसियाका दिग्गज खेलाडीसमेत बनिसकेका थिए।

यो घटना पहिलो हाफमा भएको थियो। जब पर्सेलाका टोली सेमेन पेडेन्गविरुद्ध खेलिरहेको थियो। तर अचानक हुडा आफ्नै टोलीका साथी खेलाडी रेमन रोड्रिग्ससँग जुध्न पुगे। उनी त्यतिबेला नै मैदानमा ढलेका थिए।

३८ वर्षीय हुडा बल समात्न कोसिस गरिरहेका थिए। त्यही बेला जोडले दौडेर आएका रोड्रिग्सको घुँडाले उनलाई लाग्यो। यसपछि उनी मैदानमै ढलेका थिए। उनलाई तुरुन्तै चिकित्साकर्मीले उपचार गरेर अस्पतालमा पनि पुर्याए। तर अस्पतालमा पुगेको केही क्षणपछि डाक्टरले उनलाई मृत घोषित गरेका थिए।

प्रतिक्रिया दिनुहोस्