नेपाल डिभिजन दुईमा घटुवा, विश्वकप छनोट खेल्ने अवसर बाँकी



 

नेपाल समाचारपत्र
काठमाडौं
नेपाली राष्ट्रिय क्रिकेट टोली विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत शीर्ष चारमा नपर्ने भएपछि डिभिजन दुईमा झरेको छ।

हङकङविरुद्ध दुई अवे खेलमा एक अंक जुटाएपछि नेपाल १२ खेलसँगै ९ अंकसहित अंकतालिकामा छैटौं स्थानमा रह्यो। च्याम्पियनसिपका शीर्ष चार टोलीले मात्रै आगामी विश्वकप क्रिकेटको छनोट चरणमा प्रवेश पाउने प्रावधान छ। आठ राष्ट्र सहभागी उक्त च्याम्पियनसिपका पुछारका चार टोली डिभिजन दुईमा झर्ने प्रावधान रहेको छ। नेपाल शीर्ष चारबाहिर रहने पक्का भएकाले आगामी विश्वकप छनोट चरणमा पुग्न असफल भयो। तर डिभिजन दुईमा फेरि नेपालले सकारात्मक नतिजा निकालेमा विश्वकप छनोट चरण खेल्न पाउने अर्को मौका भने गएको छैन।

नेपालसँग समूहमा दुई खेल खेल्न मात्र बाँकी छ। संयुक्त अरब इमिरेट्सविरुद्धको दुवै खेल जितेमा पनि नेपाल शीर्ष चारमा अटाउन नसक्ने भएको छ। शीर्ष टोली नेदरल्यान्डस्को १८ अंक छ भने दोस्रोदेखि चौथो स्थानसम्म रहेका टोली क्रमशः पपुआन्युगिनीको १६ अंक, स्कटल्यान्डको १५ अंक र हङकङको १४ अंक साथमा छ। जबकि नेपालले बाँकी खेलमा शतप्रतिशत चार अंक जोडे पनि कुल १३ अंक मात्रै हुनेछ। नेपालले हङकङलाई हराउनै पर्ने थियो तर पहिलो खेलमा नेपाल ८३ रनले हारेको थियो।

नामिबियामा आगामी फेबु्रअरीमा हुने डीभिजन दुई प्रतियोगिताबाट शीर्ष दुई स्थानमा रहने टोलीले बंगलादेशमा हुने विश्वकप छनोटमा खेल्न पाउनेछन्। त्यहाँ १० टोलीबीच दुई स्थानका लागि कसरत हुनेछन्। जसमा आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताका नवौंदेखि १२औं स्थानका चार टोली, विश्व क्रिकेट लिग च्याम्पियनसिपका शीर्ष चार टोली पहिल्यै हुनेछन्। अहिलेसम्म वेस्ट इन्डिज, अफगानिस्तान, जिम्बावे, आयरल्यान्ड, नेदरल्यान्डस् र पपुआन्युगिनी गरी ६ टोली सो विश्वकप छनोटमा खेल्ने तय भइसकेका छन्। बाँकी चार टोली छनोट हुन बाँकी छ। आगामी सन् २०१९ मा आईसीसी विश्वकप आयोजना हुँदै छ।

दोस्रो खेल हङकङमा टाइफुन नामक सामुद्रिक आँधी र भारी वर्षाका कारण आइतबार हुन सकेन। हिजो सोमबार खेलाइने भने पनि सम्भव नभएपछि खेल रद्द गरियो र दुवै टोलीलाई एक–एक अंक दिइएको थियो। नेपालको यो च्याम्पियनसिपमा पहिलो पटक खेल हुन नसकेको हो। यसअघि नेपालले स्कटल्यान्डसँग अवेका दुवै खेल हारेको थियो। त्यस्तै पपुआन्युगिनीसँग पनि दुवै खेल गुमाएको नेपालले नामिबियालाई दुवै खेलमा हराएर चार अंक बनाएको थियो। पछि केन्यासँग एक जित र एक हारसँगै नेपालले ६ अंक जुटाउँदा नेदरल्यान्डस्मा पनि सोही नतिजा दोहोर्यायो। नेदरल्यान्डस्लाई हराउने नेपाल च्याम्पियनसिपमा पहिलो टोली थियो। पछि केन्याले पनि डच टोलीलाई हराएको थियो।

नेपालले बंगलादेशमा हुने आगामी विश्वकप छनोटमा स्थान बनाउन डिभिजन दुईमा शीर्ष दुई स्थान सुरक्षित गर्नुपर्छ। डिभिजन दुई प्रतियोगिता नामिबियाले आयोजना गर्दै छ। आगामी वर्ष फेबु्रअरी महिनामा सो प्रतियोगिता हुँदै छ। जसमा नेपालसहित संयुक्त अरब इमिरेट्स र आयोजक नामिबियाले प्रतिस्पर्धा गर्ने पक्का भएको छ। यी तीनै टोली डिभिजन दुईमा झरेका हुन्। एक टोली घटुवा हुन टुंगो लाग्ने बाँकी छ भने अर्का दुई टोली क्यानडा र ओमान डिभिजन दुईमा बढुवा भएका छन्।

प्रतिक्रिया दिनुहोस्