फूलमा पनि भारतकै भर ?



नेपालीले दशैं मनाउन पनि भारतकै भर पर्नुपरेको थियो। दशैंमा अत्यधिक खपत हुने खसीबोका र भेडाच्याङ्ग्र्राका लागि नेपाली सधैँ भारतकै भर पर्नुपर्ने अवस्था अहिले पनि जारी भयो। अब तिहार आउँदै छ, त्यसमा पनि भारतकै भर पर्नुपर्ने कस्तो बाध्यता ⁄ हामी सरकारले रोजगारी दिएन भन्छौं तर व्यवसायमा कसैको ध्यान जाँदैन।

दशैंमा खपत हुने मासुका लागि ८० प्रतिशतभन्दा बढी चौपाया छिमेकी मुलुक भारतबाट आयात हुने गरेको तथ्याङ्क सधैँ आउँथ्यो। अब तिहारमा पनि फूल–मालामा भारतकै भर नपरी नहुने विडम्बना अन्त्य गर्न हामीले केही गर्नुपर्छ। आगामी वर्षहरूमा यस्तो हुनुहुँदैन। कृषिप्रधान मुलुकमा यस्तो अवस्था सिर्जना हुनु राम्रो हाइन। मुलुकको आन्तरिक उत्पादन कमजोर हुँदा दशैंमा मासु र तिहारमा फूल–मालाका लागि नेपालमा हुने खपतमा परनिर्भर हुनुपरेको अवस्था छ।

– सावित्रा घिमिरे, सल्यान

विकासमा फुटेर हैन जुटेर अगाडि बढौं

दाङ एसियाकै ठूलो उपत्यका हो। सबै दृष्टिकोणले सम्भावना बोकेको दाङमा पछिल्ला दिनहरूमा रहर लाग्दो तवरबाट विकास भइरहेको छ। जिल्लाका सबैजसो शहरबजारहरू कालोपत्रेमय बन्दै गएका छन्, गाउँसम्म सडक विस्तार भएको छ। गाउँ–गाउँमा शिक्षा, स्वास्थ्यको पहुँच पुगेको छ। यति हुँदाहुँदै पनि दाङको विकासको गति जुन रफ्तारमा हुनुपर्ने हो, त्यो अहिलेसम्म हुन सकिरहेको छैन। व्यवस्थित र दीर्घकालीन विकास योजना बनाउन नसक्दा जिल्लाको विकास सहीरूपमा अगाडि बढ्न नसकेको हो।

कुनै पनि जिल्लाको समग्र विकास, सम्बन्धित सरोकारवाला निकायले तयार पार्ने कार्ययोजनामा भर पर्दछ। दाङको समग्र विकासका लागि पनि यहाँका सरोकारवाला निकायहरूले तदारुकता देखाउन जरुरी छ। दाङलाई संघीय प्रदेशको प्रादेशिक राजधानी बनाउने चर्चा पछिल्लो समयमा व्यापकरूपमा हुन थालेको छ। यस हिसाबले तत्कालीन कुराहरूलाई हेरेर मात्र विकासे योजना बनाउनुभन्दा पनि पछिसम्म त्यसको सकारात्मक प्रभाव पर्ने गरी योजना बनाउनुपर्दछ।

दाङको विकासका लागि यहाँको महानगरपालिका, नगरपालिकाहरू, गाउँपालिकाहरूले भूमिका निर्वाह गरिरहेका छन्। दाङ उद्योग वाणिज्य संघ, तुलसीपुर उवासंघ र अन्य उवासंघहरूले पनि अत्यावश्यक विकास निर्माणका कुराहरूलाई जोड दिएका छन्, जसले गर्दा धेरै हदसम्म विकास निर्माणको अभियान अगाडि बढेको छ। यति हुँदाहुँदै पनि विकास निर्माणको सवालमा सबै पक्षको दरिलो एकता अहिलेसम्म हामीले देख्न पाएका छैनौं। सरोकारवाला निकायहरूले विकास निर्माणको सवालमा आ–आफ्नो एकल पहलकदमीभन्दा पनि साझा कार्ययोजना, साझा दायित्व र हातेमालो गर्दै अगाडि बढ्ने सवालमा एकमत हुन जरुरी छ।

विकास निर्माणलाई साझा मुद्दा बनाएर सरोकारवाला निकायहरू अगाडि बढ्न नसकेका कारण पनि अत्यावश्यक कुराहरू अहिलेसम्म पूरा हुन सकेका छैनन्। केही वर्षमै तुलसीपुर र घोराही एउटै शहरका रूपमा स्थापित हुनेछ। त्यसैले घोराही र तुलसीपुर केन्द्रित विकास अवधारणाभन्दा पनि यस क्षेत्रको समग्र विकास कसरी हुन्छ भन्ने बारेमा सबै सरोकारवाला निकायहरू चिन्तित हुनुपर्छ। विकास निर्माणको सवालमा एकमत नहुँदासम्म यस क्षेत्रको न्यायोचित र व्यवस्थित विकास हुन सक्दैन। यस कुरालाई सबैले मनन गर्नुपर्छ।

विकास निर्माणको कुरा गर्दा राजनीतिक दल, नागरिक समाज, उद्योगी, निर्माण व्यवसायी, सरोकारवाला सरकारी कार्यालयहरूको भूमिका महत्वपूर्ण हुन्छ। यसमा पनि दलगत प्रणालीबाट अगाडि बढेको मुलुक भएकाले पनि विकास निर्माणको सवालमा राजनीतिक दलका नेताहरू बढी जिम्मेवार हुनुपर्छ। विकास निर्माणको मुद्दा दलहरूको साझा एजेन्डाका रूपमा स्थापित हुनुपर्छ।

– सबिन कंसाकार, भालुवाङ, दाङ

विषादीले ज्यानै लिने भो

मानिसको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण कुरा हो। मानिसले स्वस्थ रहनका लागि धेरै कार्यहरू गरिरहेका हुन्छन्। तर, केही समययता तरकारी खेतीमा अनावश्यकरूपमा विषादीको प्रयोग गर्नेहरूको संख्यामा वृद्धि भएको समाचार आइरहका छन्। मानिसको स्वास्थ्यमा गम्भीर असर पुर्याउने गरी विषादीको प्रयोग बढ्नु दुःखद पक्ष हो। अनावश्यकरूपमा भइरहेको विषादीको प्रयोगका कारण प्रयोगकर्ताहरूमा विभिन्न समस्या देखा परेका छन्। विषादी आफैंमा मन्दविष हो। यसको प्रयोगका कारण उत्पादित तरकारी वा कुनै पनि बाली मानिसका लागि घातक बन्दछ। त्यसैले पछिल्लो समयमा जथाभावीरूपमा विषादीको प्रयोगमा रोक लगाउन विभिन्न योजनाहरू बनाउन जरुरी देखिन्छ।

विषादी आफैंमा नराम्रो वस्तु होइन। कुनै–कुनै तरकारी वा बालीमा लाग्ने रोग, कीरालगायतका कुराहरूलाई निर्मूल पार्नका लागि विज्ञहरूको सुझावमा विषादीको प्रयोग गर्नुपर्दछ। यस्तो प्रक्रियाबाट उत्पादित तरकारीले खासै असर गर्दैन। तर, जथाभावीरूपमा तरकारीको उत्पादनमा वृद्धि गर्नका लागि प्रयोग गरिने विषादीले मानव शरीरमा गम्भीर असर गर्दछ। थोरै लाभका लागि अर्काको शरीरसँंग खेलबाड गरेर रकम कमाउनु आफैंमा राम्रो पक्ष होइन। यस अर्थमा सम्पूर्ण किसानलाई मानवताको पाठ पढाउँदै जथाभावीरूपमा प्रयोग गरिने विषादीमा रोक लगाउनुपर्छ। किसानहरूलाई यसबारेमा सचेतना जगाउनुका साथै बिक्री वितरणमा पनि कडाइ गर्नुपर्छ।

यसै गरी विज्ञ र सम्बन्धित कार्यालयको सिफारिशविना विषादी खरिद गर्न नपाइने कानुन राज्यले बनाउनुपर्छ। अन्यथा जथाभावी विषादीको प्रयोग सबैका लागि घातक बन्न सक्छ। जथाभावी हुने विषादीको प्रयोगमा पूर्णरूपले रोक लगाउन जबसम्म सकिँदैन तबसम्म मानव स्वास्थ्यमा गम्भीर असर परिरहनेछ। मानवको सरदर आयु पनि क्रमशः छोटिनुको पछाडि विषादीले भूमिका खेलेको छ। यस कुरालाई विषादीको प्रयोगकर्ता र विक्रेताले पनि बुझन जरुरी छ।

नेपाल कृषिमा आधारित भएको देश हो। कृषिसँंग सम्बन्धित रहेर धेरै कुराहरू यहाँ सञ्चालित छन्। यस्तो अवस्थामा कृषिजन्य वस्तुमा अनावश्यकरूपमा भइरहेको विषादी रोक्ने सवालमा सम्बन्धित निकायहरूले ध्यान दिनै पर्छ। विषादीको प्रयोगले विभिन्न भयानक रोगहरू लागिरहेका हुन्छन्। विषादीले मानवजीवनमा नै गम्भीर नकारात्मक असर पार्दछ। अनावश्यकरूपमा विषादीको प्रयोग मानव जीवनलाई नै खतरामा पार्नु हो। विषादीको प्रयोग हरतबरबाट विनाशकारी छ। कुनै पनि खेतीमा यसको प्रयोग गर्नु मानव शरीरका लागि घाटा पुर्याउनु हो। तसर्थ सम्बन्धित सरोकारवाला निकायहरूले विषादीको प्रयोगमा पूर्णरूपले रोक लगाउनुपर्छ। विषादीको प्रयोगले माटोको समेत उत्पादन शक्ति ह्रास गर्दछ। विषादीको प्रयोग कतैबाट पनि लाभदायी छैन। त्यसैले यसको प्रयोग पूर्णरूपले बन्द गर्नु नै उत्तम हुनेछ।

– प्रभुनारायण शाह, कलंकी, काठमाडौं

प्रतिक्रिया दिनुहोस्