अफगानिस्तानमा भयानक विस्फोटको योजना असफल



 

काबुल, (एजेन्सी)
अफगानिस्तानको राजधानी काबुलमा प्रहरीले एक जना आत्मघाती ट्रकबम आक्रमणकारीलाई पक्राउ गरी सम्भावित भयानक आक्रमण रोक्न सफल भएको छ। ट्रकमा झण्डै तीन टन विस्फोटक पदार्थ र दुई वटा बम गोलभेंडाका बाकसहरूमा लुकाएको अवस्थामा फेला परेको एक जना वरिष्ठ अधिकारीले बताएका छन्।

सुराकको आधारमा प्रहरीले एउटा चेकप्वाइन्टमा उक्त ट्रक रोक्न खोज्दा ड्राइभर अटेर गरी भाग्न खोज्दा प्रहरीले उनलाई गोली हानी घाइते बनाएको थियो। गत मे महिनामा काबुलमा भएको एक ट्रकबम विस्फोटमा १ सय ५० जनाभन्दा बढीको ज्यान गएको थियो।

प्रहरी अधिकारीहरूले समयमै शनिबार यसरी ट्रक समातेर शहरमा निकै ठूलो अप्रिय घटना हुनबाट जोगाएको बताइएको छ। तीस वटा पहेंलो र सुन्ताला रंगका प्लास्टिक कन्टेनरमा प्रत्येक एक सय केजी वजनका दुईवटा बम र विस्फोटक पदार्थ राखिएको गृह मन्त्रालयलाई उद्धृत गर्दै एएफपी समाचार निकायले जनाएको छ।

पश्चिमी सुरक्षा सूत्रले मल बनाउनसमेत प्रयोग गरिने एमोनियम नाइट्रेट ती कन्टेनरमा राखिएको जनाएको छ। साथै ती कन्टेनरहरू एक–आपसमा विद्युतीय तारले जोडिएको जनाएको छ। सन् २००१ मा अमेरिकी नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय गठबन्धन फौजले तालिवान लडाकूलाई अफगानिस्तानबाट खेदेयता गत मेमा भएको विस्फोट सबैभन्दा शक्तिशाली मानिन्छ।

उक्त आक्रमणको जिम्मेवारी कसैले नलिए पनि अमेरिका समर्थित अफगान सरकारले त्यसको दोष तालिवानसँग आबद्ध हक्कानी समूहलाई लगाएको थियो। सुन्नी मुस्लिम लडाकू समूह इस्लामिक स्टेट पनि अफगानिस्तानमा सक्रिय रहेको छ।

प्रतिक्रिया दिनुहोस्