फिलिपिन्समा आईएस नाइके मारिए



मनिला, (एजेन्सी)
फिलिपिनी फौजले आफूहरूले दक्षिणपूर्वी एसियाका लागि इस्लामिक स्टेट (आईएस) समूहका नेता तथा अवु सयाफका लडाकू इस्निलोन ह्यापिलोनलाई मारेको सोमबार बताएको छ। रक्षामन्त्री डेल्फिन लोरेन्जानाले मारावी शहरमा भएको संघर्षमा अमेरिकाको अत्यन्तै खोजीको सूचीमा रहेका आतंककारीमध्ये एक ह्यापिलोन मारिएको बताएका छन्।

गत मे महिनामा भएको लडाकूको आक्रमणपछि सो शहर केही समय लडाकूको कब्जामा परेको थियो। दक्षिणी फिलिपिन्समा महिनौंदेखि सेना र इस्लामिक लडाकूबीच युद्ध चलिरहेको छ। सो क्षेत्रमा थुप्रै मुस्लिम लडाकू समूह सक्रिया रहेका छन्। तिनीहरूमध्ये अधिकांशको इस्लामिक स्टेटसँग आबद्धता रहेको बुझिएको छ।

रक्षामन्त्रीका अनुसार सेनाले उक्त क्षेत्रको माउते नामक एक लडाकू समूहको नाइके ओमार माउते पनि मारिएका छन्। ह्यापिलोन अपहरण, डकैती र विदेशी बन्धकहरूको टाउको काट्ने जस्ता गतिविधिका लागि कुख्यात अवु सयाफका नाइके हुन्।

यस समूहको एक पक्ष दक्षिणी फिलिपिन्समा इस्लामिक खलिफा खडा गर्ने अभियानमा छन् भने अर्को पक्ष हिंसा र अपराधिक गतिविधिमा लागेको छ। ह्यापिलोन सन् २०१४ मा इस्लामिक स्टेटसँग मिल्न पुगेका थिए। अमेरिकाले उनको टाउकोको मूल्य ५० लाख डलर तोकेको थियो। रक्षामन्त्री लोरेन्जानाले ह्यापिलोनको मृत्युसँगै मारावीको समस्या पनि सकिएको बताएका छन्। अवु सयाफ समूहले आफ्नो समूह सञ्चालनका लागि अपहरणबाट खर्च जुटाउने गरेको छ।

 

विशेष गरी विदेशी
पर्यटक र पत्रकार यस समूहको अपहरणको शिकार हुँदै आएका छन्। माग गरेबमोजिम समयमै फिरौती रकम नपाउँदा यस समूहले आफ्ना बन्धकहरूको टाउको नै काट्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्