दान्यहिरा सिरपा पुरस्कार प्रदान



 

नेपालभाषा एकेडेमीले १४ वर्षदेखि नियमित प्रदान गर्दै आएको नेपाल भाषाको साहित्य र संगीत क्षेत्रको प्रतिष्ठित पुरस्कार दान्यहिरा सिरपा आइतबार प्रदान गरिएको छ। एक वर्ष साहित्य र वाङ्मय तथा अर्को वर्ष संगीत क्षेत्रमा प्रदान गरिँदै आएको यो पुरस्कार यस वर्ष संगीत क्षेत्रलाई प्रदान गरिएको छ।

त्यस अवसरमा संगीत क्षेत्रमा जीवन अर्पण गरेका ९० वर्षीय संगीतसाधक भीमबहादुर नकःमिलाई यस वर्षको दान्यहिरा लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको हो। ५० हजार रुपियाँ धनराशीसहितको यो पुरस्कार प्रमुख अतिथि नेपालभाषा एकेडेमीका संरक्षक वाङ्मय शताब्दि पुरुष डा. सत्यमोहन जोशीले प्रदान गरेका थिए भने नगद राशी दाता एवं नेपालभाषा एकेडेमीका भाइस चान्सलर यज्ञरत्न धाख्वाःले प्रदान गरेका थिए।

शुरु–शुरुमा संगीत क्षेत्रमा एक जनालाई लाइफटाइम अचिभमेन्ट र एक जनालाई प्रोत्साहन पुरस्कार प्रदान गरिँदै आएकोमा यसै वर्षदेखि दान्यहिरा सिरपा संगीतका तिनै विधा संगीतकार, गीतकार र गायकलाई प्रदान गर्न थालेको पुरस्कारका स्थापनाकार यज्ञरत्न धाख्वाःले बताए। जसअनुसार यो वर्ष गीतकार काजीराज शाक्य, संगीतकार विरेन शाक्य र गायक ईश्वर अमात्यलाई यो पुरस्कार प्रदान गरिएको हो। यो सिरपाको धन राशी जनही सत्र हजार रुपियाँ रहेको छ।

एकेडेमीका चान्सलर चित्तरञ्जन नेपालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा एकेडेमीका सदस्य–सचिव मल्ल के सुन्दरले स्वागत मन्तव्य राखेका थिए भने प्राज्ञ सदस्य विजयरत्न असंबरले दान्यहिरा सिरपाको कार्यविधि र प्रावधानमाथि प्रकाश पारेका थिए। यस्तै पुरस्कार अर्पण समारोहमा एकेडेमीका भाइस चान्सलर र दान्यहिरा सिरपाका दाता कथाकार यज्ञरत्न धाख्वाःको बाह्रौं कृतिका रूपमा नेपालभाषाको कथा संग्रह पुस्तक हारां मैंचा (नखरमाउली केटी) को पनि प्रमुख अतिथि शताब्दि पुरुष डा. जोशीद्वारा विमोचन गरिएको थियो। विमोचित पुस्तकका बारेमा एकेडेमीमा प्राज्ञ सदस्य प्रा. प्रेमशान्ति तुलाधरले समालोचना गरेका थिए। कार्यक्रममा गायकहरु जुजुकाजी रञ्जित, ईश्वर अमात्य, हरिशरण सायमी, रमना श्रेष्ठलगायतले गीत प्रस्तुत गरेका थिए भने कलाकार अञ्जला नकर्मीले नृत्य प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्