रञ्जिता पनि निर्मात्री



 

गोरखा पल्टनकी नायिका रञ्जिता गुरुङ पनि फिल्म निर्माणमा जुटेकी छन्। ‘अहिले फिल्म निर्माणमा जुटेकी छु। चाँडै फिल्म बनाउँदै छु –उनले भनिन्। निकट समयमै गुरुङ कल्चरमा आधारित फिल्म बनाउने तयारीमा जुटे पनि रञ्जिताले फिल्मको नाम भने जुराएकी छैनन्। ‘तिहारपछि घोषणा गर्नेछु। अहिले तयारी हुँदै छ’ –उनले भनिन्।
गोर्खामा जन्मिएर सानै उमेरमा काठमाडौं आई करियर शुरु गरेकी रञ्जितालाई नृत्य सिक्दासिक्दै म्युजिक भिडियोमा काम गर्ने प्रस्ताव आएको थियो। त्यसपछि लगातार हिट म्युजिक भिडियो दिएकी रञ्जिताले भन्छिन्– ‘अहिले आएर कति भिडियोमा काम गरें भन्ने गन्नै छाडें। हजार त माथि पुग्यो होला।’ पछिल्लो समय आधुनिक तथा कल्चरल गीतको भिडियोमा मोडलिङ गर्दै आएकी रञ्जिता भन्छिन्– ‘हिजोआज त गीत छनोट गरेरमात्र भिडियो गर्न थालेकी छु।’

बाटोसम्मैको, धरती कुनको आकाश जुनको, यो मुटु जलाई–जलाई, कसलाई सोध्ने होला, कोदो रोप्दा लाएको पिरतीजस्ता रञ्जिता अभिनित म्युजिक भिडियोहरु चर्चित छन्। १ हजारभन्दा बढी लोकगीतको भिडियोमा मोडलिङ गरिसकेकी रञ्जिता गोरखा पल्टनमार्फत अभिनेत्रीका रूपमा रजतपटमा चिनिएकी हुन्। म्युजिक भिडियो हुँदै फिल्म अभिनय शुरुआत गरेकी रञ्जिताले फिल्म बनाउनुका कारणबारे स्पष्ट गर्दै भनिन्– ‘मैले काम नपाएर फिल्म बनाउन लागेको होइन। आफ्नो गुरुङ कला र संस्कृति जर्गेना तथा प्रवद्र्धनका लागि फिल्म बनाउने सोच बनाएकी हुँ।’ विशेष गरी लोकगीतमा मोडलिङ गर्दै आएकी रञ्जिताले गोरखा पल्टनका अलावा दशगजा, छ एकान छजस्ता फिल्ममा पनि अभिनय गरेकी छन्।

गुरुङ भाषाको फिल्म सैर बैं ताँ (मनको कुरा) की समेत नायिका रहेकी रञ्जिताले भन्छिन्– ‘आगामी दिनमा अभिनयसँगै निर्माणलाई पनि आत्मसाथ गर्दै अगाडि बढ्नेछु।’

प्रतिक्रिया दिनुहोस्