म्यादी प्रहरीमा महिलाको भीड



 

विमल विष्ट, डोटी
सरकारले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि झन्डै १ लाख म्यादी प्रहरीको भर्ना खोलेपछि डोटीमा म्यादी प्रहरीका लागि फारम भर्नेको भीड लागेको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जिल्लामा म्यादी प्रहरीको फारम भर्नेमा सबैभन्दा बढी महिलाको उल्लेख्य सहभागिता रहेको छ।

म्यादी प्रहरीमा १ हजार २ सयभन्दा बढीले डोटीमा फारम भरे पनि ७ सयभन्दा बढी महिला रहेका छन्। म्यादीको जागिरका लागि डोटीका युवायुवती तथा महिला तँछाडमछाड गरिरहेका छन्। म्यादी प्रहरी बन्नका लागि गएको मंगलबारदेखि असोज ३० गतेसम्म दरखास्त दिन सकिने समय तोकिएसँगै दरखास्त दिने युवायुवती तथा महिलाको भीडभाड बढेको हो। जिल्ला प्रहरी कार्यालय डोटीमा म्यादी प्रहरीमा भर्नाका लागि दरखास्त दिने युवायुवती तथा महिलाको थेगी नसक्नु भीड लागेको र सबैभन्दा बढी महिलाको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘प्रहरीसँगको विश्वास तथा प्रहरीभित्र हुने सकारात्मक आचरणका बारेमा जानकारी भएका कारण डोटेली महिला म्यादी प्रहरीको जागिरमा आकर्षित भएका हुन्, अन्य जिल्लाको तुलनामा हाम्रो जिल्लामा महिलाको संख्या बढी छ।’ बढ्दो बेरोजगारीबाट पीडित बन्दै आएका युवा तथा महिलालाई म्यादी प्रहरीको भर्ना खुलेसँगै राहत मिलेको म्यादी प्रहरीको फारम भर्न आएका बोगटान गाउँपालिकाका स्थानीय तिलक कामीले बताउनुभयो। उहाँले भन्नुभयो– ‘फुर्सदको समय खेर फालेर बस्नुभन्दा केही परिश्रम गरेर रकम कमाउन सकिने भएकाले जागिरका लागि आएको हौं, घर बस्नुभन्दा जागिर पाइए परिवार पाल्न त सजिलो होला।’

अघिल्लो पटक भएको संविधान सभाको निर्वाचन, स्थानीय तहको निर्वाचनका बेला पनि डोटीमा म्यादी प्रहरीमा भर्ना हुन आउने महिलाको घुइँचो लागे पनि यो पटक भने त्योभन्दा बढी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। प्रहरीले १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेकोले म्यादी प्रहरी बन्न पाउने भनि आवेदन खोलेपछि यति ठूलो भीड लागेको हो।

म्यादी प्रहरीका लागि ५५ दिनको तलब, दैनिक विशेष भत्ताको व्यवस्था गरिएको छ। कात्तिक १० गतेसम्म म्यादी प्रहरीको छनोट सम्पन्न गरिसक्नुपर्ने उल्लेख भएको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो। डोटीमा आवश्यक म्यादी प्रहरीको अहिले नै यकिन तथ्यांक नबनाइए पनि स्थानीय तहको चुनावकै हाराहारीमा म्यादी प्रहरी खटाइने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्