नेपालगन्जमा पेस्तोलको मूल्य २० हजार



 

बाँके, (नेस)
भारतबाट ल्याएर नेपालगन्जमा साना हतियारको कारोबार हुने गरेको छ। नेपालगन्जमा कटुवा पेस्तोलको मूल्य २० हजार रहेको पाइएको छ।

नेपालगन्ज–२२, पुरैनीका श्यामता लोनिया, डुडुवा–३, सुलालपुरुवाका बाबुलाल पासी र झुन्डापुरुवाका शेर अली बागवान प्रहरीलाई नै कटुवा पेस्तोल बिक्री गर्न खोज्दा फन्दामा परेका छन्। ‘२० हजारमा डिलिङ भएको थियो’, प्रहरी स्रोतले भन्यो– ‘पुरैनीको शान्तिचोक नजिकबाट उनीहरूलाई पक्राउ गरियो।’

साना हतियारको कारोबारले सुरक्षामा चुनौती थप्ने भएकाले कडाइका साथ लागेको बाँके प्रहरीले बताएको छ। सोमबार नै पक्राउ गरिएका तीनै जनाका बारेमा विस्तृत अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख एसपी टेकबहादुर तामाङले बताउनुभयो।

सीमावर्ती भारतीय बजारमा छ्यापछ्याप्ती पाइने साना हतियार सस्तोमा ल्याएर नेपालगन्जलगायत देशका विभिन्न शहरमा पुर्याएर महँगो बिक्री हुने गरेको छ। ‘जसले बढी पैसा दिन्छ उसलाई बेच्ने गरी उनीहरूले हतियार ल्याएका थिए, प्रहरी नै ग्राहक बनेर गएपछि उनीहरू फन्दामा परे’, –स्रोतले भन्यो।

नेपालगन्जमा यसअघि पनि बिक्री गर्न ल्याइएको कटुवा पेस्तोतसहित १ जना पक्राउ परेका थिए। आपराधिक मानसिकता बोकेका व्यक्तिले यस्ता हतियार खरिद गर्ने गरेको पाइएको छ। डन प्रवृत्ति, आपराधिक सोच भएका चोर, लुटेराले साना हतियार खरिद गरेर आतंक मच्चाउने गर्दछन्। सीमावर्ती शहर भएकाले नेपालगन्जमा अपहरण, चन्दा, फिरौतीका घटना बेलाबेलामा हुने गर्दछ। पछिल्लो समयमा रोकिए पनि नेपालगन्जबाट हराएका २ जना अझै बेपत्ता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्