बन्धक बनाइ पटक–पटक करणी गर्ने युवा पक्राउ



 

रामधन राई, खोटाङ
खोटाङमा बालिकाको शरीर बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गर्ने उदयपुरका १ युवकलाई प्रहरीले पक्राउ गरेको छ। १४ वर्षीया बालिकालाई बन्धक बनाएर जबरजस्ती करणी गर्ने उदयपुरस्थित त्रियुगा नगरपालिका–९ का विदुर भनिने कुलबहादुर कटवाललाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको हो।

खोटाङमै ट्याक्टर चलाउँदै आएका कटवालले विवाहको प्रलोभन देखाएर लामो समयदेखि जबरजस्ती करणी गर्नुका साथै अपहरण गरी बन्धक बनाइराखेको भन्दै पीडित बालिकाकी आमाले दिएको उजुरीको आधारमा असोज २९ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो।
हिरासतमा राखिएका कटवालविरुद्ध जबरजस्ती करणी, अपहरण र शरीर बन्धकअन्तर्गत मुद्दा दर्ता गरेर कारबाही थालिएको प्रहरीले जनाएको छ। पक्राउ परेका कटवालले गल्ती स्वीकार गरिसकेको जनाइएको छ।

जिल्लाका उत्तरी क्षेत्रकी पीडित बालिकाकी आमाले दिक्तेलस्थित कार्यालयमा आएर २७ गते उजुरी दिएपछि कटवाललाई रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नासाथ २९ गते नै जिल्ला अदालत खोटाङमा लगेर ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङ मुद्दा शाखाका प्रहरी नायब निरीक्षक मनोजकुमार यादवले बताउनुभयो।

अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका कटवालले गत भदौ २३ गते बालिकालाई घरैबाट अपहरण गरेर गाईघाट लगी बन्धक बनाएर राखेको उजुरीमा उल्लेख छ। गाईघाटस्थित एउटा घरमा राखेर पटक–पटक करणीको सिकार बनेकी बालिका ९ दिनपछि भदौ ३१ गते भाग्न सफल भएको आफन्तले जनाएका छन्।

पीडित बालिकाको छिमेकी १ महिलाले ललाई फकाई कटवालसँग सम्पर्क गराइदिएपछि उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। बालिका अपहरणमुक्त भएपछि फरार रहेकी महिलाविरुद्ध समेत मुद्दा दर्ता गरेर खोजी कार्य शुरू गरिएको प्रनाउ थापाले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्