२०७० को निर्वाचनको अझै बेरुजु



 

काभ्रे, (नेस)
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको समयमा हुने रुजु र बेरुजुलाई ख्याल गर्न निर्देशन दिएका छन्। निर्वाचन आचारसंहिता पालनाका लागि दलहरूले २७ बुँदे आचारसंहितामा हस्ताक्षर गरिसकेकाले आचारसंहिता पालनाका लागि ध्यान दिन र कार्यान्वयन गराउन सम्बन्धित जिल्लाका निर्वाचन अधिकारीलाई निर्देशन दिए।

धुलिखेलमा आयोजित निर्वाचन सामग्री र लेखा व्यवस्थापन तालिमको उद्घाटनसभामा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले भने– ‘२०७० सालमा सम्पन्न निर्वाचनको समेत बेरुजु फर्छ्र्याैट भएको छैन, अहिलको निर्वाचनको बेरुजु बाँकी राख्ने कर्मचारीलाई कारबाही गरिनेछ।’ निर्वाचन आयोगले गुनासो सुन्न र आचारसंहिताका उल्लंघनका बारेमा उजुरी लिन ३ सदस्यीय टोली आयोगमा राख्न लागेको बताए। देशभरको गुनासो संकलन गर्ने केन्द्र स्थापना भएपछि त्यहीमार्फत् आचारसंहिता पालनाका लागि कार्य गर्न सकिनेछ।

कार्यक्रममा बोल्दै प्रमुख आयुक्त यादवले मतदाता प्रभावित पार्ने, आर्थिक चलखेल गर्ने, मन्त्रीहरू आफैं उम्मेदवार भएको जिल्ला तथा निर्वाचन क्षेत्रमा त्यसको दुरुपयोग गर्ने अवस्था आएमा तत्काल प्रमुख जिल्ला अधिकारीलाई रोक्न र कारबाही गर्न सक्ने अधिकार दिएको बताए। मन्त्रीसँग मिलेर निर्वाचन आचारसंहिता उल्लंघनमा सहयोग गर्ने प्रजिअलाई समेत कारबाही गर्ने चेतावनी यादवले दिए। मतदान र मतगणना दुवै महत्त्वपूर्ण विषय भएकाले त्यसलाई समन्वय गर्न मुख्य निर्वाचन अधिकारी जिल्ला न्यायाधीश र प्रमुख जिल्ला अधिकारीबीचको समन्वयलाई विशेष ख्याल गर्न सहभागिलाई यादवले आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्