धारिलो हतियार प्रयोग गरी दम्पतीको हत्या



 

हिक्मत नेपाली, दैलेख
दैलखको भगवतीमाई गाउँपालिका–७ बडाभैरवमा १ दम्पतीको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ। भगवतीमाई गाउँपालिका–७ का अन्दाजी ४० वर्षीय जयबहादुर सिंह र उनकी पत्नी ३९ वर्षीया कमला सिंहको हत्या भएको हो। उक्त घटनामा मृतक जयबहादुर सिंहका १६ वर्षीय छोरा दीपक सिंह गम्भीर घाइते भएका छन्।

घाइते भएका दीपक सिंहको धारिलो हतियारले घाँटी रेटिएको छ। उनलाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा लगिएको छ। उनको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सरोज पौडेलले बताउनुभयो।

हत्यामा संलग्न रहेका भगवतीमाई गाउँपालिका–७ का २१ वर्षीय मनोज खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। हत्यामा संलग्न खड्काले छिमेकी घर जोडिएका सिंह दम्पतीलाई लेनदेनको विषयलाई लगेर आइतबार साँझ ७ बजेतिर धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखमा बयान दिएको प्रहरीले जनाएको छ।

लेनदेनका कारणले सामान्य विवाद भएपछि विवादले ठूलो रुप लिएर घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्