१०२ वर्षका वृद्धसँगै ७१ जेष्ठ नागरिक सम्मानित



 

नेपाल समाचारपत्र
लमजुङ
लमजुङमा १०२ वर्षका वृद्धसहित दुर्गम गाउँका ७१ जना वृद्धवृद्धा सम्मानित भएका छन्। जिल्ला समन्वय समिति लमजुङले दूधपोखरी गाउँपालिकाका जेष्ठ नागरिकलाई उक्त सम्मान गरेको हो।

जिल्लाको पूर्वी क्षेत्रमा रहेका दूधपोखरी गाउँपालिका–४ स्थित विचौर र दूधपोखरीका जेष्ठ नागरिकलाई सम्मान गरिएको हो। उक्त कार्यक्रम विचौर ठाँटी निवासी १ सय २ वर्षीय जेष्ठ नागरिकलाई सम्मान गरी थालिएको थियो। सम्मानित हुने अन्यमा दूधपोखरी गाउँपालिका–४ का ८८ वर्षीयद्वय भद्रीमाया न्यौपाने र पानमती तामाङ तथा सोही वडाका ८४ वर्षीय हरिमाया दवाडीलगायत ७१ जनालाई सम्मान गरिएको स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले बताउनुभयो। उहाँका अनुसार सम्मानित हुनेलाई प्रमुख अतिथि जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले दोसल्ला कम्बल, थर्मस हर्लिक्स प्रदान गरी सम्मान गर्नुभएको थियो।

सम्मान ग्रहणपछि विचौर ठाँटी निवासी ८८ वर्षीय भद्रीमाया न्यौपानेले आफूले पहिलो पटक सम्मान पाएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘अरुले सम्मान पाएको सुनेकी थिएँ, आफूले अहिलेसम्म कुनैले यस्तो गरेको थिएन।’ उहाँ मात्र होइन सहयोग पाएसँगै विचौर पात्लेका ८४ वर्षीय हरिमाया दवाडीसमेत निकै खुसी देखिनुहुन्थ्यो। उहाँले भन्नुभयो– ‘सबैको साथमा यस्तो पाउँदा छुट्टै खुसी हुँदोरहेछ।’

उक्त कार्यक्रममा प्रमुख अतिथि पाण्डेले दुर्गमका नागरिकलाई केन्द्रविन्दुमा राखेर आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले लमजुङको दुर्गम क्षेत्र दूधपोखरी विचौर भएकाले त्यस क्षेत्रको विकासको पक्षलाई समेत आफूले ध्यान दिने बताउनुभयो। यसै गरी, स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले जिल्लाको सबैभन्दा विकट क्षेत्र मानिने विचौरमा सम्मान कार्यक्रम गरिएको बताउनुभयो। उहाँले यातायात र विद्युत्बाट समेत पछाडि परेको यो क्षेत्र भूकम्पबाट पनि बढी प्रभावित भएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्