पञ्चेश्वरमा स्थानीयको गम्भीर आपत्ति



 

राम धामी, डडेल्धुरा
प्रस्तावित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत वातावरणीय व्यवस्थापनको योजना निर्माण कार्य अन्तिम चरणमा पुगे पनि डडेल्धुराका प्रभावित क्षेत्रमा पुगेर स्थलगत अध्ययन नगरिएको र स्थानीयको सुझाव संकलन नगरिएको भन्दै जिल्लाको महाकाली नदी तटीय क्षेत्रका बासिन्दाहरूले गम्भीर आपत्ति जनाएका छन्।

परामर्शदाता कम्पनी शाह कन्सल्ट इन्टरनेसनल प्रालिले दार्चुला, बैतडी र कञ्चनपुरमा स्थलगत अध्ययन र जिल्लास्तरीय कार्यशालाको आयोजना गरी सुझाव संकलन गरेको छ। डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका, परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका थुप्रै बस्तीहरू पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डुबान क्षेत्रमा पर्दछन्।
परामर्शदाता सम्बद्ध वातावरणविद्को टोलीले प्रभावित क्षेत्रको निरीक्षण तथा स्थानीयसँग छलफल गरे पनि डडेल्धुरा जिल्लाका प्रभावित क्षेत्रमा पुगेर छलफल नगरिएकोप्रति स्थानीयले आपत्ति जनाएका हुन्। ‘विस्तृत वातावरणीय व्यवस्थापन योजना निर्माणको काम अन्तिम चरणमा पुगेको आमसञ्चार माध्यमहरूबाट समाचार सम्प्रेषण भइरहेको छ’, डडेल्धुराको प्रभावित भित्रीमधेस क्षेत्रमा स्थापित चुरे क्षेत्र वन वातावरण समन्वय समितिका अध्यक्ष कैलाशकुमार पाण्डेयले भने– ‘डडेल्धुरा जिल्लाका महाकाली तटीय क्षेत्रका बासिन्दासँग सल्लाह नै नगरी योजना निर्माण गरिनु दुर्भाग्यपुर्ण हो।’

विज्ञहरूले गरेको अध्ययनपछि पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको वातावरणीय प्रभावबारे विस्तृत योजना बन्न लागेको हो। अध्ययन टोलीले यसअघि सन् २०१३ मा नेपाल सरकारले स्वीकृत गरेको आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनलाई आधार मानेर उच्च बाँध निर्माणस्थल र प्रभावित क्षेत्रको अध्ययन गरी प्रतिवेदनलाई अन्तिम रूप दिन लागेको छ।

परामर्शदाता कम्पनी शाह कन्सल्ट इन्टरनेसनलले गत भदौमा आयोजनाको प्रभावित क्षेत्र बैतडी र दार्चुलाका स्थानीय तहमा गएर नागरिकसँग छलफल गरी सुझाव संकलन गरेको थियो। स्थानीयको सुझावपछि प्रारम्भिक योजना बनाएको विज्ञहरूको टोलीले बैतडी, कञ्चनपुर र दार्चुलामा जिल्लास्तरीय कार्यशाला गोष्ठीको आयोजना गरेर सरोकारवालाको सुझाव संकलन गरेको छ।

सुझाव संकलनका लागि डडेल्धुराको महाकाली तटीय बस्तीसम्म टोली नपुगेकामा महाकाली सन्धि र पञ्चेश्वर परियोजनाका विज्ञ मानिने कञ्चनपुर जिल्ला विकास समितिका पूर्वसभापति ऋषिराज लुम्सालीले रोष प्रकट गरे। ‘योजना निर्माण गरिँदा दार्चुला, बैतडी र कञ्चनपुर पुगेर मात्र हुँदैन, डडेल्धुरा र कैलाली पनि प्रभावित क्षेत्र हुन्’, उनले भने– ‘डडेल्धुराका अधिकांश बस्तीहरू डुबानमा पर्ने भएकाले डडेल्धुरालाई उच्च प्राथमिकतामा राखेर विस्तृत वातावरणीय व्यवस्थापनको योजना निर्माण गरिनुपर्छ।’

पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको मुख्य सहायक बाँध डडेल्धुराको रूपालीगाडमा निर्माण गरिने भएकाले विस्तृत वातावरणीय व्यवस्थापनको योजनामा डडेल्धुरा जिल्लाका राय सुझाव संकलन गरिनुपर्ने लुम्सालीले औंल्याए।

आयोजनाको विस्तृत वातावरणीय व्यवस्थापनको योजनालाई अन्तिम रूप दिइने परामर्शदाता कम्पनी शाह कन्सल्ट इन्टरनेसनलका वातावरणविज्ञ अजयभक्त माथेमाले बताए। उनले रूपालीगाडमा सहायक बाँध बनेपछि मात्रै डडेल्धुरा प्रभावित क्षेत्रमा पर्ने भएकाले विस्तृत वातावरणीय व्यवस्थापनको योजना तर्जुमा गर्दा डडेल्धुरामा स्थलगत अध्ययन नगरिएको र सुझाव संकलन नगरिएको बताए।

प्रतिक्रिया दिनुहोस्